दसैँमा व्यापार घटेको न्यूरोडका व्यापारीहरुको गुनासो

लोकपथ
35
Shares

काठमाडौं । दसैँको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्यूरोडका व्यापारीहरु चिन्तित बनेका छन् । काठमाडौंको न्यूरोड असनका व्यपारीहरु दसैँको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन् । नेपालीहरुको महान चाड बडा दसैँको समयमा गत वर्षमा ग्राहकहरुको ठेलाम्ठेल हुने असन र न्युरोड बजार अहिले प्रायः शुन्य छन् । केही चहलपहल त छ तर सोचेअनुसारको चहलपहल भने हुन नसकेको व्यापारीहरुको गुनासो छ ।

गत वर्षहरुमा न्युरोड क्षेत्रमा हिँड्नेसमेत ठाउँ नहुने गरेर मानिसहरु किनमेलका लागि आउने गरेपनि यसवर्ष भने कम मात्रै आइरहेको उनिहरुले बताए । कोरोना महामारीपछि व्यापार व्यवासायहरु राम्रोसँग फस्टाउन सकेको छैन । साथै, नेपालीहरुले पनि आफ्नो महान चाड कोरोनाकै कारण राम्रोसँग मनाउन सकेका छैनन् । यस वर्ष कोरोना महामारीको असर कम रहेपनि डेंगुका संक्रमणका कारण पुनः दैनिक जनजीवन अस्तव्यस्त बनेको छ ।

चाडबाड नजिकिँदै गरिरहेको अवस्थामा देशभर डेंगुका बिरामीहरु दिनप्रतिदित बढीरहेका छन् । जसका कारण पनि आम मानिसहरु बजारमा त्यत्ति देखिँदैनन् । साथै चाडबाडमा नयाँ लुगा, नयाँ परिकार खानपानका लागि पनि अनलाइनबाट नै होम डेलिभरी हुनाले भौतिक रुपमा नै उपस्थित भएर सामान किनबेच गर्नेको संख्या कम हुँदै गएको सहजै आँकलन गर्न सकिन्छ ।

कोरोनाका कारण आम मानिसको आर्थिक अवस्था पनि कमजोर भएकाले बजारमा ग्राहकहरुको चहलपहल कम भएको हुनसक्ने बताउँछन् न्यूरोडस्थित कपडा पसलका व्यापारी दिनेश साही । उनले विगतका वर्षहरुको तुलनामा यस वर्ष कमैमात्र व्यापार भएको बताए । त्यस्तै, न्यूरोडमा नै जुत्ता, चप्पल व्यापार गर्दै आएका उद्धव ढुंगेलको पनि भनाइ फरक छैन । सोचेअनुसारको व्यापार नहुँदा पसल भाडा तिर्नपनि हम्मेहम्मे परेको बताए । उनले विगतका वर्षहरुमा हिँड्ने बाटो नहुने न्युरोडमा यस पटक भने खुला भइरहेको अनुभव गरेको बताए ।

दसैँ नजिकिएसँगै व्यापार पनि होला भन्ने सोचले सामान ल्याएको तर ग्राहक नआउँदा आफूहरु अहिले समस्यामा परेको बताए । कोरोना भाइरस र बढ्दो डेंगुका कारण पनि नागरिकहरु घरभित्रै भएकाले पनि दसैँको सामान किन्न खासै बजार निस्किएका छैनन् । ग्राहकलाई आकर्षण गर्न व्यापारीले विभिन्न सामानमा छुटको व्यवस्था गरेपनि त्यसमा ग्राहकको आकर्षण कम देखिएको छ ।

भिडियो :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?