नागरिकको सेवामा महानगर निरन्तर : प्रमुख शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको प्रत्यक्ष सेवासँग जोडिएका आवश्यक पूर्वाधार विकास र विस्तारका लागि कामपा निरन्तर लागिरहेको बताएका छन् ।  

कामपा वडा नं ३ महाराजगञ्ज चोकमा निर्माण गरिएको सडक सङ्केत बत्ती सञ्चालनमा ल्याइने क्रममा प्रमुख शाक्यले उक्त धारणा राखेका हुन् । भूकम्पको कारण क्षति पुगेको सो सडक बत्ती रु २५ लाख खर्चमा बनाइएको हो । उक्त सडक बत्तीको रिमोट प्रमुख शाक्यले आज आयोजित कार्यक्रममा ट्राफिक प्रहरी उपरीक्षक राजकुमार लम्साललाई हस्तान्तरण गरे । 

“विकास व्यवस्थापनका लागि सबै अधिकार महानगरमा आइपुगिसकेको छैन कामपाको अधिकारमा आएका कार्य क्रमिक रुपमा गरिँदै आएको छ”, शाक्यले भने । महानगरभित्रका ठूला सडकको निर्माण, मर्मतसम्भार तथा व्यवस्थापन सडक विभागको जिम्मामा छ । तर विभागबाट यसमा पर्याप्त काम नभएपछि महानगरले काम गरेको हो । वडा नं– ३ का वडा अध्यक्ष दीपक केसीका अनुसार सो वडामा राष्ट्रियस्तरका पाँच अस्पताल छन् । पैदलयात्रु र सवारी आवागमन सहज बनाउन सडक बत्ती जडान गरिएको हो । 

महाराजगञ्जको प्रणालीबाट प्राप्त प्रभाव र आवश्यकता हेरेर वडासँगै शहरका अन्य ठूला चोकमा विस्तार गर्ने महानगरको योजना रहेको कामपा सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाको भनाइ थियो । वडा नं ३ मा महाराजगञ्ज चोक, वसुन्धरा, सामाखुशी गरी तीन ठूला सडक चोक छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?