दशैँ बन्यो दशा, नुवाकोट र सिन्धुलीमा बस दुर्घटना, पाँचको मृत्यु ५० घाइते

काठमाडौं । नेपालीहरुको महान चाड दशै मनाउन घर फर्किदै गरेका छुट्टा छुट्टै यात्रु वहाक बस सिन्धुली र नुवाकोटमा शुक्रवार दिउँसो दुर्घटना हुँदा पाँचजनाको मृत्यु ५० जना घाइते भएका छन । 

नेपाल प्रहरीका अनुसार, बस दुर्घटना मध्ये सिन्धुलीमा तीन जना र नुवाकोटमा दुई जनाको मृत्यु भएको छ । 

सिन्धुली सुनकोशी गाउँपालिका–५ मुलकोटस्थित सडकमा सिन्धुली मरिमबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६ ख ९१२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो । 

बसमा सवार सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ८ बस्ने २८ वर्षीय रबि खड्काको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका चालक सहित अन्य छ जनालाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ लैजादै गर्दा दुई जनाको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । 

त्यस्तैं, नुवाकोट सूर्यगढी गाउँपालिका–५ कल्लेरी भन्ने ठाउँमा मसेरीबाट ढिकुरेतर्फ जाँदै गरेको बा.१ ख ६३५६ नम्बरको यात्रुबाहक बस सडकबाट अन्दाजी एक सय मिटर तल खसी दुर्घटना हुँदा बसमा सवार दुईजनाको मृत्यु भएको छ । 

नुवाकोट पन्चकन्या गाउँपालिका–४ थप्रेक बस्ने २८ वर्षीया मिनु तामाङको घटनास्थलमै र ५६ वर्षीय बलराम तिवारीलाई उपचारको लागि अस्तपाल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार, दुर्घटनामा घाइते भएका मध्ये ३२ जनालाई जिल्ला अस्पताल त्रिशुली, तीन जनालाई सिटी हस्पिटल नुवाकोट र १० जनालाई काठमाडौं ल्याइएको छ । 
प्रहरीले ती दुईटै सवारी दुर्घटना मुख्यकारण चालकको लापरवाहीका साथै गाडीको अवस्था खराव भएको जनाइएको छ । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?