नेपालीजनको महान पर्व आँगनमा आइपुग्यो ! बसपार्कमा जे देखियो

काठमाडौं । नेपालीहरुको ठूलो चाँड दशैँका अवसरमा अहिले घर फर्किने यात्रुहरुको बसपार्कहरुमा भिड बढ्न थालेको छ ।

रोजगारी, अध्ययन तथा व्यवसायका सिलसिलामा शहर बसेका मानिसहरु र कामको शिलशिलामा भारत लगायत अन्य देशमा गएकाहरु दशै मनाउन धमाधम आफ्नो घर फर्कन थालेका छन् । 

काठमाडौं उपत्यकाबाट पनि दशैँ मनाउन घर जानेहरुको संख्या दिनहुँ बढ्दै गएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिएका छन् ।

उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन् । महाशाखाका अनुसार असोज २३ गते घटस्थापनाका दिन एक लाख ३० हजार, असोज २४ गते एक लाख ४४ हजार र असोज २५ गते एक लाख १० हजार यात्रु बाहिरिएका छन् ।

असोज २३ गते १२ हजार ६५५, असोज २४ गते १३ हजार ५५१ र असोज २५ मा १३ हजार १४७ सवारीसाधन उपत्यकाबाट बाहिरिएका थिए । बिहीबारसम्म एक लाख ३२ हजार व्यक्तिले टिकट बुकिङ गरेका छन् । महाशाखाले दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

कलङ्की, स्वयम्भु, नयाबसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।


तस्वीर: सरोज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?