चङ्गाबारे रोचक तथ्य : थाइल्याण्डमा चङ्गा उडाए स्वर्ग पुगिन्छ !

दशैँ भनेकै पिङ, अक्षता, जमरा, दक्षिणा, मीठा परिकार, आफन्तसँगको भेटघाट नै त हो । दशैँका यिनै महत्त्वपूर्ण तत्त्वहरुको लिस्टमा छुट्नै नहुने अर्को तत्त्व हो, चङ्गा । आकाशमा बादलका चोइटासँगै घरी यता घरी उता गरिरहेका चङ्गाहरुको दृश्यले दशैँको झल्को दिन्छन् । भलै यस्ता दृश्य आजकल कमै देखिन्छन् तर, यसको महत्त्व अझै पनि उत्तिकै छ । त्यसैले हाम्रा लागि चङ्गा उडाउनु खेल मात्र नभएर रीति हो, पुर्खौंदेखि चलिआएको संस्कृति । यो रीति कहिले र कहाँ जन्मियो भनेर मिति र स्थान किटान गर्न नसकेपनि कसरी भयो भन्ने बारेमा संस्कृतिविद्हरुको छुट्टै अभिव्यक्ति छ ।

लिखित इतिहास नभएपनि नेपालमा लिच्छवी कालदेखि नै चङ्गा उडाउने चलन चलिआएको संस्कृतिविद् डा.गणेश घिमिरेले बताए । उनका अनुसार चङ्गा उडाउने चलनका पछाडि सांस्कृतिक भन्दा पनि सामाजिक र प्राकृतिक कारणहरु छन् । डा.घिमिरे भन्छन् ‘यो समयमा मौसम सफा र स्वच्छ हुने भएकाले चङ्गा उडाइन्थ्यो । यही क्रियालाई बारम्बार दोहोराएपछि यसले परम्पराको रुप लियो । पछि सबै मिलेर चङ्गा उडाउँदा, प्रतिस्पर्धा गर्दा यही सामाजिक एकता र सद्भावको माध्यम बन्यो र क्रमश संस्कृति पनि ।’ 

नेपाली संस्कृतिले चङ्गालाई दूतको संज्ञा दिन्छ । वर्षा यामको दौरान अत्याधिक वर्षा भएपछि ‘हामीसँग पर्याप्त पानी छ । अब पानी पर्नु पर्दैन’ भन्ने सन्देश स्वर्गका राजा इन्द्र सम्म पु-याउनका लागि चङ्गाको प्रयोग गरिएको हो । आफ्नो इच्छाअनुसार जति बेला मन लाग्यो उही बेला चङ्गा उडाउन मिल्दैन । कारण, धार्मिक विश्वास र मौसम ।

साउन भदौको वर्षापछि असोजमा सफा वातावरण हुने भएकाले दशैंको समय चङ्गा उडाउनलाई सबैभन्दा उपयुक्त मानिन्छ । त्यसैले, यो परम्परा धेरथोर मौसम र प्रकृतिसँग पनि सम्बन्धित छ ।
चङ्गाको उद्गमस्थल भने छिमेकी राष्ट्र चीनलाई मानिन्छ ।

इतिहास

चङ्गाको इतिहासको बारेमा सन् ७१३ मा एउटा पुस्तक प्रकाशन भएको थियो । 

चीनका गोङ्ग सु–वानले काठ र बाँसको चरा आकारको चङ्गा बनाएर तीन दिनसम्म आकाशमा उडाएको सन्दर्भत्यस पुस्तकमा उल्लेख गरिएको छ । 

पुस्तकअनुसार गोङ्ग सु–वानको वास्तविक नाम ‘लु वान’ थियो भने उनी डुण्नु आङ्गका बासिन्दा थिए । ‘चु राज्य’ र ‘सोङ राज्य’बीच चलेको युद्ध ( सन् ४४४) मा लुवानले जासुसी गर्नका लागि चङ्गाको निर्माण गरे । त्यही समयदेखि चङ्गाको जासुसी प्रयोग प्रारम्भ भएको मानिन्छ । यो क्रम चीनमा तांग वंश (सन्६१८–९०७) सम्म चलिरह्यो । युरोपमा पहिलो पटक सन् १८०४ मा ‘लर्ड जर्ज क्याली’ले १ सय ५४ वर्ग इन्चको चङ्गा बनाएर उडाएका थिए । 

यी देशमा उडाइन्छ चङ्गा, यस्तो छ धार्मिक विश्वास

नेपालमा : किंवदन्ती अनुसार स्वर्गका राजा इन्द्रसम्म ‘वर्षा चाहिँदैन’ भन्ने सन्देशपु¥याउनका लागि चङ्गाको प्रयोग गरिएको हो भन्ने किंवदन्ती छ ।वर्षायाममा धेरै पानी परिसकेकाले धान पाक्ने बेला पानी चाहिँदैनभनेर इन्द्रलाई उक्त सन्देश पठाइन्छ । चङ्गा उडाएमा पानी पर्दैन भन्ने जनविश्वास परपूर्वकालदेखि नै रहिआएको छ ।

चीन : चीनमा रोगव्याधबाट मुक्ति पाउन र दुष्टात्मा धपाउने प्रयासको रूपमा चङ्गाउडाउने गरिन्छ ।

जापान : जापानमा प्रत्येक नयाँ वर्षको शुभदिनमा चङ्गा उडाउने चलन छ । त्यहाँका प्रत्येक बाबुहरू छोराको नाममा चङ्गा उडाएर छोराको लामो आयुका लागि प्रार्थना गर्छन् । त्यसैले जापानीहरूका लागि चङ्गा उडाउनु वंशलाई अगाडि बढाउने प्रतीक हो । 

भारत : भारतमा माघेसंक्रान्तिको अवसरमा चङ्गा उडाउने गरिन्छ । त्यस दिनलाई ‘चङ्गा पर्व’को नामले पनि चिनिन्छ । सूर्यको स्वागत गर्न चङ्गा उडाइने भारतमा माघेसंक्रान्तिका दिन विभिन्न ठाउँमा चङ्गा चेट कार्यक्रमको आयोजना हुने गरेको छ । 

कोरिया : कोरियामा चङ्गाको प्रयोग दुर्भाग्य तथा दुष्टात्मा भगाउनका लागि गरिन्छ । कोरियालीहरूलेनयाँ वर्षको पूर्णिमाको राति दुर्भाग्य भगाउनतथा सौभाग्य भित्र्याउनका लागि एउटा ठूलो चङ्गामा ‘अशुभहरू जाओस्’लेखेर आकाशमा उडाउने गरेका छन् । उडिरहेको चङ्गाको धागोलाई काटेपछि त्यो चङ्गासँगै उनीहरूको दुर्भाग्य पनि काटिएर जान्छ भन्ने विश्वासका साथ यो परम्परालाई आत्मसाथ गरिन्छ ।

श्रीलंका : श्रीलंकामा चङ्गाले स्वर्ग र पृथ्वीको सम्पर्क कायम गर्छ र चङ्गा उडाएमा मरेपछि स्वर्ग पुगिन्छ भन्ने जनविश्वास छ ।

थाइल्याण्डमा : स्वर्ग र पृथ्वीको सम्पर्क हुने र मरेपछि स्वर्ग पुगिन्छ भन्ने विश्वासका साथ थाइल्याण्डमा चङ्गा उडाइन्छ ।

सथै अमेरिका र पोलेन्सियामा पनि विशेष अवसरमा चङ्गा उडाउने गरिन्छ । 

विज्ञान र आविष्कार

सन् १८७४ मा स्कटल्याण्डका दुई वैज्ञानिक थोमस मेलविन र अलेक्जेन्डर विल्सनले चङ्गामा तापमापक यन्त्र (थर्मोमिटर) राखेर वायुमण्डलको तापक्रम लिएका थिए । सन् १८९३ मा अमेरिकाका वैज्ञानिक लरेन्स हाग्रेभले बनाएको बाकस आकारको चङ्गाले १२ वर्षसम्म अमेरिकाको मौसम विभागको लागि वायुको तापमान र हावाको दबाव नाप्ने काम ग-यो ।

बेलायतका ओलिभर तथा विल्वर राइट नामका दुई भाइले सन् १९०३ मा हवाइजहाजलाई आकाशमा उडाउने अनुसन्धानका क्रममा चङ्गाको यथेष्ट प्रयोग गरेका थिए । वैज्ञानिक सर जर्ज केलेले सन् १९०४ मा चङ्गाकै आधारमा ग्लाइडरको आविष्कार गरे । सन् १९२५ मा जर्ज पोककले आफ्नी छोरीलाई लिएर उड्न सक्ने चङ्गा बनाएका थिए ।

चङ्गाका प्रकारहरू

फ्ल्याट काइट(चेप्टो चङ्गा) : फ्ल्याट काइट सबैभन्दा पुरानो र पुच्छर भएको चङ्गा हो । यस्ता चङ्गामा हावाको गतिअनुसार पुच्छरको लम्बाइ राख्ने गरिन्छ ।

बोउड काइट : बक्राकारको हुने यो चङ्गाले हावासित कोण बनाउँछ । यस्तो कोणलाई ‘डाइहेड्रल एंगल’ भनिन्छ । यस प्रकारको चङ्गा सन् १८९१ मा पहिलोपटक अमेरिकामा प्रयोग भएको थियो । 

बक्स काइट : बक्स काइटमा तीनवटा डाइमेन्सनल एकाइ हुन्छ । किनाराहरू वर्गाकार, आयातकार र त्रिकोणकार हुने गर्दछन् । यस्ता चङ्गा उडाउन तीव्र हावाको जरुरत पर्दछ । बक्स काइटहरू एउटा भन्दा पनि बढी सङ्ख्यामा लहरै उडाउँदा आकर्षक देखिन्छन् ।

डेल्टा काइट : डेल्टा काइट त्रिकोणाकार चङ्गा हो । यो चङ्गा हल्का हुने भएकाले उडाउन निकै सजिलो हुन्छ । यसको निर्माण प्रक्रिया पनि अरु चङ्गाको भन्दा सजिलो छ । 

स्टोन काइट : पाङ्ग्रा जडित कुर्र्सीमा बसेर उडाइने चङ्गा नै स्टोन काइट हो । यो चङ्गा कुर्र्सीमा बसेर मात्र उडाइन्छ । चङ्गाको उडान गतिसँगै आफू पनि गुड्ने भएकाले रमाइलो मान्दै यो चङ्गा उडाइन्छ ।

फ्लेक्जिबल काइट : यो चङ्गा अरु भन्दा अलि जटिल हुन्छ । फ्लेक्जिबल काइट सन् १९६३ मा अमेरिकाबाट प्रचलनमा आएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?