‘मुग्लान’ फिल्मको सदाबहार गीत ‘दशैँ आयो’ का सर्जक लोकनाथ भन्छन् – अझै चित्त बुझेको थिएन

काठमाडौं ।  जब जब दशैँको रमझम नजिकिन्छ । एउटा गीत बज्न थाल्छ – दशैँ आयो ।

चलचित्र ‘मुग्लान’ मा समेटिएको यो गीत जति चर्चित छ, त्यति चर्चित छैनन् गीतका सर्जक लोकनाथ सापकोटा । सापकोटा आफैले कतिपय ठाउँमा भन्नुपर्छ – ‘यो गीत त मैले लेखेको हो नि ।’

दशैँ दैलोमा आइपुग्न लाग्दा गुञ्जिन थालेको यो गीत कसरी रचना भएहोला त? हामीले यही बुझ्न अनामनगरस्थित उनको डेरासम्म पुग्यौँ ।

हामी पुग्दा उनी एउटा अर्को गीत लेख्दै थिए । स्याङ्जा जिल्लाका ऐतिहासिक पक्षलाई लिएर गीत तयार गर्दैछन् उनले । उक्त गीतको विमोचनको तयारीमा छन् उनी । गीत तयार पार्न झण्डै चार वर्ष लगाएका छन् उनले ।

यही गीतका कारण उनी केही व्यस्त देखिन्थे । ‘अहिले अलि बढी नै व्यस्त छु, चाडबाडमा कलाकारको व्यस्तता बढ्छ भन्ने त हजुरलाई थाहै होला?’, उनले कुराको थालनी गर्दै भने ।

स्याङ्जा जिल्ला, फापरथुमका लोकनाथ रचनाको क्षेत्रमा लागेको झण्डै २५ वर्ष भयो । केही गीत लेखेका छन् । आफैले एरेन्ज गरेका गीत पनि छन् तर त्यति चर्चामा छैनन् । उनी चाहन्छन्, गीतमा कमसेकम ‘गुदी’ हुनुपर्छ । अहिलेको बजारप्रति उनी त्यति सकारात्मक हुन सकेका छैनन् ।

‘पहिले कस्तो ‘सेलेक्टेड’ गीतको चलन थियो, अहिले त तयारी नगरिएका गीत नै सयौँ निस्कन्छन्, बजारले राम्रा गीत पाएन’, उनले अगाडि थपे, ‘संगीत भनेको चानचुने कुरा होइन नि, यसमा आफ्नै शक्ति हुन्छ, जीवन शर्माका गीत पो गीत, अहिलेको बजार कच्चा भयो ।’

गीत लेखन उनका लागि त्यति सजिलो काम होइन पनि । लोकनाथका लागि मात्र होइन, अरुका लागि पनि सजिलो काम चाहिँ होइन । जब उनी केही वर्ष मुम्बई बसेर नेपाल फर्किए । त्यहाँ हुँदा भारतीय कलाकारको जीवन देखे, त्यसपछि उनले निर्णय गरे – ‘नेपाल गएर म पनि कलाकार बन्छु ।’

तर, उनले भारतीय कलाकार तथा लेखकले पाएको सम्मानजस्तो नेपालमा देखेनन् । ‘राज्यले कलाकारलाई देशको गहना त भन्छ तर, यो भन्नेबाहेक अरु केही गर्दैन, राज्यले संगीत क्षेत्रका बारेमा पनि सोच्नुपर्ने हो, नेपालमा त्यस्तो छैन ।’, उनले गुनासो गरे ।

यसरी लेखियो चलचित्र ‘मुग्लान’ को ‘दशैँ आयो’ गीत

लोकनाथले यो गीत खासमा ‘मुग्लान’ फिल्मका लागि लेखेका थिएनन् । उनको गाउँ स्याङ्जाको फापरथुप नजिकै देउरालीमा एउटा ढुंगो छ । त्यहाँबाट हरिया फाँट, रमाइला दृश्यलाई मजाले नियाल्न सकिन्छ । दशैँको बेलामा प्रकृति झनै खुलेको हुन्छ । स्कूल पढ्दाताका उनी एकदिन देउरालीमा बसिरहेका थिए । दशैँ आउनै लागेको थियो । देउरालीको चिसो बतासले उनलाई शीतल दिइरहेको थियो । तल धानका बाला झुलिरहेका थिए ।

यही प्रकृतिलाई शब्दमा बाँधेर उनले गीत लेख्न थाले ।

‘त्यतिबेलाको प्रकृति किन खुलेको थियो भने दशैँ आएको थियो, पिङ हालिएको थियो, धानका बाला टुसाउनुको कारण पनि दशैँको रौनक हेर्नलाई थियो’, लोकनाथले मुस्कुराउँदै भने, ‘त्यही प्रकृतिलाई हेरेर मैले गीत लेखेको थिएँ, साहित्यकारझैँ भावनामा बगेर गीतमा प्रकृतिको चित्रण गरेँ ।’

त्यो गीत उनले लेख्न त लेखे तर गीतले अझै पूर्णता पाएको थिएन । उनको हिसाबमा त यो गीत बजारमा आइपुग्दा त्यस्तै ४/५ वर्ष लाग्यो । उनले भने, ‘स्कूल पढ्दा गीत लेखेँ, क्याम्पस पढ्ने बेलामा ०५८ सालमा रेकर्ड भयो, फिल्ममा त ०६२ तिर आयो ।’

प्रकृति हेर्दै देउरालीमा बसेर लेखेको गीत उनले पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रविणता पढ्दा उनले तेजु गुरुङ, कृष्णा परियार लगायतसँग मिलेर गीत गाएका थिए । ‘त्यतिबेला यो गीत  रेकर्ड भएर पोखराकै रेडियो अन्नपूर्ण र रेडियो नेपालबाट बजेको थियो, क्यासेट भने निकालेनौँ ।’, सापकोटाले सुनाए ।

यो गीत त्यतिबेला पनि हिट भएको थियो तर दशैँको बेला रेडियोबाट मात्र बज्थ्यो । पछि उनले पोखराकै विन्दवासिनी मन्दिरको लेखा शाखामा काम गर्न थाले । त्यहाँ काम गर्ने बेलामा उनको भेट कैयन् राष्ट्रिय स्तरका कलाकारसँग भयो ।

‘मलाई कलाकारिताको भूत कतै न कतै थियो, त्यो समयमा ‘म तिम्रै राजेश हमाल’ बोलको गीत पनि हिट थियो, एक दिन शिव रेग्मीलाई मैले यो गीत सुनाएँ, त्यतिबेला हामी ड्यामसाइडको एक होटलमा बसेका थियौँ ।’, सापकोटाले पुराना दिन स्मरण गर्दै सुनाए ।

निर्देशक रेग्मीले सापकोटाको गीत एकपटक मात्र सुनेनन् । ४/५ पटक सुने र भने – ‘यो गीतको परिवेशमा म एउटा प्रोजेक्ट लेख्छु, त्यसमा यो गीत राख्ने, बरु यसो गर्नुस्, परदेशी घर आउन नपाएको र पीडालाई पनि बुझाउने गरी केही अन्तरा थप्नुस् ।’

सापकोटाले त्यसै गरे । त्यसपछि शिव रेग्मीसँग लामो समय भेट भएन । पछि उनको गीत रेकर्ड भएर ‘मुग्लान’ फिल्ममा आयो ।

गीत एकाएक हिट भयो ।

‘गीत त हिट भयो, तर मलाई अझै पनि यो गीत चित्त बुझेको थिएन, मन परेका दुई अन्तरा उहाँहरुले हटाइदिनुभएछ, गीत जति हुनुपर्ने हो, त्यति नभएझैँ लाग्छ’, उनले भने, ‘मलाई चित्त नबुझे पनि आम नेपालीको चित्त बुझ्यो, गीत राम्रो हुनुको कारण मेरा शब्द मात्र पक्कै होइनन्, यो गीत राम्रो टीमको हातमा प–यो ।’

उनलाई लाग्छ, यो गीत यदि मुम्बईमा रेकर्ड हुँदैनन्थ्यो भने पनि यति स्तरीय बन्दैनथ्यो । त्यसमाथि उदितनारायण झा र दीपा झाको स्वरले गीतलाई झन् शक्तिशाली बनाइदियो ।

गीत किन चर्चित भयो होला त? ‘दशैँको परिवेश समेटेको थिएँ, त्यसैले मन पराउनुभयो तर अझै दशैँको परिवेश टिपिरहेको छैन, मलाई अझै चित्त बुझेको छैन ।’ उनले सुनाए, ‘नेपालमा मैले जसरी डुबेर रचना गर्छु, त्यसरी डुबेर अरु मेकिङ गर्ने टिमको खाँचो छ, एउटा अझ दमदार र पूरै दशैँ झल्काउने गीत तयार पार्ने सपना छ ।’

अन्तमा उनले थपे, ‘यत्तिको गीत त हिट छन्, झन् स्तरीय गीत बनाउने हो भने कति हिट हुँदा हुन्?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?