नेपाल मलेसियाबीच एमओआईमा कात्तिक १२ गते हस्ताक्षर हुने

काठमाडौं । नेपाल र मलेसियाबीच बहुप्रतिक्षित द्विपक्षीय श्रम समझदारी (एमओआई)मा कात्तिक १२ गते हस्ताक्षर हुने भएको छ । 

दुई देशका श्रममन्त्रीले समझदारीमा आगमी कार्तिक १२ गते काठमाडौंमा हस्ताक्षर हुने मिति तय भएको हो । 

श्रम, रोजगार तथा सामाजीक सुरक्षा सचिव महेशप्रसाद दाहालका अनुसार श्रम समझदारीमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधन मन्त्री कुला शेघरान कार्तिक ११ गते नेपाल आउँदैछन् ।

गत २ जेठदेखि मलेसिया कामदार पठाउन बन्द गरिएको छ । श्रम समझदारी लगत्तै केही प्राविधिक विषय टुंगाएर मलेसिया जाने पूर्ववत अवस्थाले निरन्तर पाउने छ । श्रम समझदारीको मस्यौदामा दुई देशका उच्च अधिकारीबीच हस्ताक्षर भइसकेको छ ।

समझदारीले कामदारको भर्ना प्रक्रिया, कामदारले पाउने सेवा सुविधा र सामाजीक सुरक्षा लगायत विषयमा स्पष्ट किटान गरेको मलेसियाका लागि कार्यबाहक राजदूत कुमार खरेलले बताए ।

भिसा र टिकट, स्वास्थ्य परिक्षणको शुल्क रोजगारदाताले नै व्यहोर्नेछ । कामदार आपूर्ति गरेवापत रोजगारदाताले म्यानपावरलाई कामदारको १५ दिनको तलब बराबरको सेवा शुल्क भुक्तानी गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?