बिजुली बलेपछि स्थानीयवासीमा खुशीयाली

 काठमाडौँ।  बाँकेको राप्तीसोनारी–१ कुसुममा बिजुली बलेपछि स्थानीयमा खुशीयाली छाएको छ । ३२ वर्षदेखिको बिजुली बाल्ने सपना पूरा भएपछि स्थानीयवासी खुशी भएका हुन् । 

विसं २०४३ देखि घरको आँगन हुँदै राष्ट्रिय प्रशारण लाइन जोडिएपछि बत्ती बाल्ने आशा गरेका स्थानीयवासीको सपना पूरा भएसँगै खुशी भएका हुन् । सुगम जिल्लाको विकट क्षेत्रका रुपमा रहेको कुसुममा ग्रामीण विद्युतीकरण अन्तर्गत विद्युत् विस्तारसँगै बिजुली बलेपछि स्थानीयवासी उत्साहित भएका छन् । 

सामुदायिक ग्रामीण विद्युतीकरण अन्तर्गत राप्तीसोनारी गाउँपालिकाको खासकुश्मा कुसुममा स्थापना गरिएको सवस्टेशनबाट प्रशारण लाइन तानेर बत्ती बालिएको संस्थाका अध्यक्ष तेजबहादुर सुवेदीले बताए । राप्तीसोनारी गाउँपालिका–१, कुसुमका यमबहादुर खड्काले बिजुली बलेपछि खुशी व्यक्त गर्दै भने, “बिजुली आएपछि अब अरु सम्भावनाका ढोका खुलेका छन् । यहाँ उद्योग आउने आशा गरेका छौं ।’ 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुसुमबासीसँग दुई महिनाभित्र सबै वडामा बिजुली बल्ने प्रतिबद्धता गरेसँगै स्थानीयवासी विद्युत् विस्तारका काममा हौसिएका छन् । स्थानीय पदमराज वलीले भने, “कार्यकारी निर्देशकले नै प्रतिबद्धता जनाएको  छ । यसमा हाम्रो पनि साथ र सहयोग रहनेछ ।” 

राप्तीपारिका सबै क्षेत्रलाई विद्युतीकरणसँग जोड्ने अभियान अन्तर्गत पहिलो चरणमा खासकुश्माको कुसुममा सवस्टेशन स्थापना गरेर बत्ती बालिएको छ । कुसुममा पहिलो पटक बत्ती बलेपछि स्थानीय चुर्णबहादुर कुमालले  भने, “अब रातको अन्धकार हटेसँगै अरु विकास पनि आउने आशा गरेका छौं ।” 

सङ्घीय सांसद महेश्वरजङ्ग गहतराज अथक ले प्राविधिक कारणले सबै वडामा बाल्न नसकिए पनि केही स्थानमा बत्ती बाल्न सफल भएको बताए।  उनले भने  “अब छिट्टै सबै वडामा बिजुली बाल्न हामी लागिपरेका छौं ।” 

विसं २०७० कात्तिक २५ मा नेपाल विद्युत् प्राधिकरण र सामुदायिक विद्युत् वितरण केन्द्रबीच सम्झौता भई २०७१ साल असारमा काम शुरु भएको भए पनि ठेकेदारको लापरवाहीका कारण झण्डै चार वर्ष ढिला भएको प्राधिकरण क्षेत्रीय प्रमुख मनोजकुमार सिंहले जानकारी  दिए। उक्त योजनामा प्राधिकरणको ९० प्रतिशत र स्थानीयवासीको १० प्रतिशत लगानी छ । रु ६ करोड ३० लाख ४७ हजार २८२ लागतको यो योजनाबाट कुसुमका दुई हजार ८२५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । कुसुम क्षेत्रका सबै गाउँ र घरमा विद्युत् विस्तारको काम चलिरहेको प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताउए। 

उनले भने, “अहिले कुसुमका ३० प्रतिशत स्थानीयवासीको घरमा बिजुलीको पहुँच पुगेको छ, केही समयमै सबै घरधुरीमा बिजुली बल्छ ।’ राप्तीसोनारी गाउँपालिका एक कुसुम क्षेत्रमा १३ वटा ट्रान्सफर्मर जडान गरिएकोमा नौ वटा चार्ज गरी सकिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?