आज दशैँको छैठौं दिन : कात्यायनी माताको पूजा गरी मनाइँदै

काठमाडौं । आज बडा दशैँको छैठौं दिन घर–घरमा कात्यायनी माताको पूजा गरि मनाइँदै छ । 

आज कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । धर्मशास्त्रमा उल्लेख भएअनुसार प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायनी रहन गएको हो ।

बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ । उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ । त्यस्तै दाङको अम्बिकेश्वरी, सल्यानको खैरावाङ भगवती, नेपालगञ्जको बागेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको बिन्दबासिनी, डोटीको सैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाईलगायतका शक्ति पिठमा भक्तजनको भीड लागेको छ ।

पहिलो दिन शैल्यपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुस्माण्डा, पाँचौं दिन स्कन्द माता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दशैंमा शक्ति पूजा गर्ने प्रचलन छ ।

दशैँमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?