आँखा टिलपिल पार्दै जब राष्ट्रकविले सुनाए दशैँको नरमाइलो याद [भिडियो]

काठमाडौं । उमेरले राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्ष पार गरिसकेका छन् । शरीर सुस्त हुँदै गएको छ । कान अलिक कम सुन्छन् । बिरामी परिरहन्छन् । फुर्सत मिलाएर महाकाव्य ‘ऋतम्भरा’ लेख्न बस्छन् । उत्तिकै अरुका पुस्तक पढ्छन् पनि ।

दशैँको स्मरण सोध्न राष्ट्रकविको घरमा पुग्दा ओशोको पुस्तक ‘ओशो उपनिषद’ पढेर घोत्लिरहेका थिए घिमिरे । पल्लो खाटमा धर्मपत्नीले ‘अचम्म भो !’ पढेरहेकी थिइन् ।  बिमारबाट भर्खरै तङ्ग्रिएका राष्ट्रकविले शुरुमै भने, ‘धेरै बेर त बोल्न सक्दिनँ ।’

पल्लो खाटमा बसेकी धर्मपत्नीले थपिन्, ‘उहाँलाई सञ्चो थिएन, तागत कम छ, धेरै नसोध्नुहोला है !’

धेरै कुरा सोध्नै परेन । सबै कुरा उनी आफैले कविताझैँ गरी सुनाइदिए । दशैँलाई सकारात्मक र नकारात्मक पक्ष दुवै कोणबाट औँल्याएका राष्ट्रकविले आफ्नो बाल्यकालको स्मरण लोकपथलाई सुनाउन थाले ।

* * *

दशैँ र तिहार नेपालीका सबैभन्दा रमाइला चाडबाड हुन् । जुन बेला म गाउँ (लमजुङको पुस्तन) मा थिएँ । त्यो बाल्यकालको बेला जताततै रमाइलो थियो । गाउँ रमाएको थियो । पूरै विश्व नै दशैँको बेलामा यस्तै रमाइलो होला भन्ने लाग्थ्यो ।

तर, त्यो रमाइलो अहिले मेरो मनमा छैन । म ज्यादै बूढो भइसकेँ । म एउटा पहाडको टुप्पोको एक पाखोबाट अर्को पाखोमा पुगिसकेँ । म एक सय वर्ष कटेर पनि अझै माथि लागिसकेँ । अब मलाई रमाइलो दशैँ या तिहारको पहिलेजस्तो छ भनेर भन्न सक्दिन ।

दशैँलाई लिएर मलाई रमाइलो पनि लाग्छ । नरमाइलो पनि लाग्छ । अहिले पनि दशैँ आउन लाग्यो भनेपछि गल्ली, चोक, घर, आँगन सबै सफा हुन्छ । हिलो मैलो सबै सफा हुन्छ । एक किसिमको अन्धकारले घेरिएको मौसम एक्कासी बादल हटेर राति जुनले भरिएको उज्यालो हुन थाल्छ । 

म तपाईंलाई एउटा स्मरण सुनाउँछु – मेरो गाउँ आफै उज्यालोले भरिपूर्ण थियो । बच्चा बेलामा बेलामा मेरो ध्यान पिङ खेल्नुमा थियो । पिङ मच्चाउनेमा थियो । दशैँमा साथीभाइले पिङ कसरी मच्चाउँथे भने, यताबाट उता मच्चाउँदै जाँदा मुखलेरुखको पातलाई च्याप्न सकिन्छ कि सकिँदैन । त्यो विचार गर्थे । रुखको पात च्याप्न सक्यो भने झनै रमाइलो लाग्थ्यो ।

एकपछि अर्को, अर्कोपछि अर्को गर्दै सबै मिलेर लिङ्गे पिङ खेलेको आफैमा झन् रमाइलो थियो । त्योभन्दा पनि रमाइलो पिर्के पिङ खेल्दा हुन्थ्यो ।

चाँचरीको भाका गाउँदै पिर्के पिङमा माथिबाट तल र तलबाट रिङ्नुको जुन रमाइलो थियो, त्यसमा पिङ खेल्दाको जुन याद थियो । त्यो याद अहिले पनि उत्तिकै ताजा छ । पिर्के पिङमा आफू बस्यो, अरुले मच्चाइदिन्थे । त्यो मच्चिएको बेलामा गीत गाउँदै झरेको जुन दृश्य हुन्थ्यो, त्यो अहिले पनि रमाइलो पक्षका रुपमा मेरो मनमा सुरक्षित बसेको छ ।

(सकसपूर्ण स्वरमा उनी राष्ट्रकवि मुसुक्क हाँसे, त्यसपछि उनले अर्को पक्ष सुनाउन थाले)

एउटा नरमाइलो पक्ष भनौँ, माघ/फागुनदेखि भेडाको पाठो लिएर, घरमा पाल्ने गरिन्थ्यो । खोरमा त्यसलाई राखेर बाहिर कहिले पनि झिकिँदैनथ्यो । दशैँमा त्यो भेडाको पाठो झिकेर बलि दिने, काट्ने काम हुन्थ्यो । सबै रमाउँथे । गीत गाउँथे । भेडोलाई जसले एकैपटकमा छिन्न सक्यो, उसको बयान हुन्थ्यो । घरभरि मासु सुकाइन्थ्यो । अगेनाका माथि मासुका साप्राहरु सुकाइन्थे ।

(यतिबेला राष्ट्रकविका आँखा टिलपिल गरिरहेका थिए, शायद उनले फागुनदेखि थुनेर राखेको भेडाको पाठो सम्झे ।)

तर, घरका बालकहरु त्यो मासु पटक्कै मन पराउँदैनथे । मेरो त मनै कहाँ गयो । त्यो मार्मिक प्रसङ्गलाई बा–आमाले पनि यता गयो भनेर स्पष्ट पार्न सक्दैनथे । त्यो करुणाको भावलाई अहिले म पनि भन्न सक्दिन । त्यो अहिंसाको भाव, एउटा कविले अनुभव गरेको त्यही करुणाको भाव हो ।

(राष्ट्रकविका आँखा रुझे, चश्मा निकाले र रुमालले आँखा पुछे ।)

जुनेली रातको सौन्दर्य, त्यो भेडाको मार र बच्चाले त्यसलाई खोजेको करुणाका दृश्यलाई मैले नकारात्मक पक्षका रुपमा लिएको छु । मलाई त्यो कुराले असह्य पीडा भएको थियो । भेडाका साप्रा देखेर अरुलाई मासु खान मन लागेको थियो होला । मलाई रुन मन लागेको थियो त्यतिबेला ।

* * *

यति सुनाएपछि राष्ट्रकविले सुनाए, ‘मैले अघि नै भनेँ, पाँच महिना बिरामी भएँ, अझै तागत लागेको छैन, बिस्तारै तङ्ग्रिदै छु ।’

राष्ट्रकविको घरबाहिर तिहार झल्काउने गरी हजारी फूलहरु फुलिसकेका थिए ।

भिडियोः

फोटो/भिडियो: अर्घेलो थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?