असल संस्कारका लागि नौलो अभियान

काठमाडौं । गोंगबु बसपार्क क्षेत्रमा बिहानैदेखि धूलो उडिरहन्छ । दशैँमा घर जाने यात्रुको सङ्ख्या पनि उत्तिकै बढिरहेको छ, किनकि दशैँ छ । गाडीको चाप उत्तिकै छ । प्रायः यहाँ जाम हुन थालेको छ । बाहिर जाने यात्रु र पैदल हिँड्ने यात्रालाई पशुपति गुरुङले पर्चा बाँडिरहेकी छिन् । पशुपति मात्र होइन, पर्चा बाँड्नेमा पशुपतिजस्तै अरु पनि छन् । टीमको काम पैदल यात्रु र बसपार्कमा टिकट काट्न जानेलाई पर्चा दिने र संस्कारका बारेमा बुझाउने हुन्छ ।

पशुपति गुरुङले भनिन्, ‘हामी फोहोर भयो, फोहोर भयो भन्छौँ, अरुलाई आरोप मात्र लगाउँछौँ, आफूले चाहिँ केही गर्दैनौँ ।’

उनका अनुसार अहिले नेपालीले अरुलाई दोष दिने प्रवृत्ति बढ्दो छ । कसैलाई भन्न प–यो भने नेपालीले त्यसका बारेमा राम्रै गरी भन्न सक्छन् तर व्यवहारमा भने लागू गर्दैनन् ।

‘हामी नेपालीको के बानी भयो भने अरुले यस्तो ग–यो र उस्तो ग–यो भनेर बस्ने मात्र भयो, हामीले के गरेका छौँ भन्ने कहिल्यै मूल्याङ्कन गरेनौँ’, अभियन्ता गुरुङले भनिन्, ‘अरुलाई दोष दिने चलन बिस्तारै हटाउनुपर्छ भनेर हामीले संस्कार अभियान थालेका हौँ ।’

दशैँमा घर जाँदा दुर्घटना पनि उत्तिकै हुने गर्छन् । दुर्घटना भयो भने सिधै चालकलाई दोष दिने चलन छ । यही कुरालाई मध्यनजर गर्दै आफूहरुले अहिले यो अभियान थालेकी गुरुङ बताउँछिन् । ‘हामी बसमा क्षमताभन्दा बढी चढ्यौँ कि? यो बारेमा पनि सोच्नुपर्ने हुन्छ ।’, उनले भनिन् ।

‘संस्कार समाज नेपाल’ नामक संस्थाबाट चेतनामूलक कार्यक्रम थाल्दै आएकी संस्थापक गुरुङले अहिले यो संस्थामा झण्डै डेढ सयजना जोडिएको बताउँछिन् । यो संस्थाले सरसफाइ अभियान पनि थाल्ने गर्छ । एउटै ठाउँमा तीनपटक सम्म सफा गर्ने गर्छ । ‘हामीले एउटै स्थानमा तीन दिनसम्म लगातार सफाइ गर्ने गर्छौ, हामी के चाहन्छौँ भने उहाँहरुले त्यो देखेर अर्कोपटक फेरि फोहोर फाल्दा लाज लागोस्’, पशुपतिले भनिन्, ‘तीन करोड जनताका लागि अहिले संस्कार अनिवार्य भएको छ ।’

संस्कार के हो त? पशुपति भन्छिन् – हाम्रो बुझाइमा संस्कार भनेको दैनिकी हो, हामीले दैनिक जीवनमा जे गर्छौं, त्यसलाई कसरी लैजाने भनेर गर्ने काम हो ।

कुनै बेला जुत्ता नै नलगाउने चलन भए पनि अहिले खुट्टामा जुत्ता अनिवार्यजस्तै भएको बताउँदै पशुपति थप्छिन्, ‘समाजअनुसार परिवर्तन चाहिँ हुनुपर्छ, संस्कार नयाँ बस्दै जानुपर्छ ।’

बाटोमा पर्चा बाँड्दै चेतना फैलाउन त्यति सहज छैन । तर मान्छेले अरुलाई दोष दिएर भन्दा आफूले के कसरी गर्न सकिन्छ भनेर चेतना फैलाउन जरुरी भएको गुरुङले बताइन् ।

‘नेपालीमा चेतना नभएको होइन नि, नपढेको को छ र? तर हाम्रोमा कुरा मात्र गर्ने तर व्यवहारमा लागू नगर्ने चलन बढ्यो, यस्तो चलन बिस्तारै हटाउनुपर्छ ।’, उनले अगाडि थपिन् ।

नेपालमै केही गर्न सकिन्छ, परिवर्तन आफैबाट गर्नुपर्छ, ट्राफिक नियमको पालना गरौँ, नियमका बारेमा जानकार मात्र होइन, व्यवहारमा पनि लागू गरौँ भन्दै उनीहरुले यात्रुलाई आग्रह गरिरहेका छन् ।

गुरुङले भनिन्, ‘हामीले काठमाडौँबाट यो अभियान थालेका छौँ, अब नेपालभर नै बिस्तार गर्दै जाने योजनामा छौँ, पर्चा दिनेलाई पनि यो पर्चा पढेपछि बाटोमा नफालिदिनुहोला भनेर आग्रह गरेर दिएका हुन्छौँ ।’


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?