आज फूलपाती : घरघरमा फूलपाती भित्र्याईँदै, आजबाट सार्वजनिक विदा

काठमाडौं । आज दशैँको सातौ दिन फूलपाती भित्र्याएर मनाईँदै छ । 

हरेक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज (मंगलबार) घरघरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाईँदैछ । सरकारले आजैबाट सार्वजनिक बिदा दिएको छ । 

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्र्याउने गरिन्छ ।  

दशैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिको महत्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दशैँको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ । यस दिन सदर टूँडिखेलमा बढाइँ भएपछि फूलपाती पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ । यसै दिन गोरखा दरबारको दशैँघरबाट ल्याइएको फूलपाती राजधानी (जमल) ल्याई प्रोसेशन र बढाइँ साथ हनुमानढोका भित्र्याइन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याइ शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । 

परम्परा अनुसार दुर्गा भवानीको प्रतिमा राखिएको दशैँ घरमा फुलपातीको शुभसाइतको रुपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारीम, जयन्ती, ओकको फूल तथा नयाँ पालुवा समेत भित्र्याईँन्छ ।

फुलपातीको दिन अर्थात नवरात्रीको सातौ दिन घरघरमा फुलपाती भित्र्याईँदै नवदुर्गा भवानीको स्वरुप मानेर कालरात्री देवीलाई पूजा गरिन्छ ।

माता कालरात्रिको स्वरूप डरलाग्दो जस्तो देखिन्छ । तर, यिनी भक्तलाई शुभ फल दिने जनविश्वस रहि आएको छ ।

घटस्थापनाकै दिनदेखि दशैं शुरु भएपनि फुलपातीको दिनदेखि विशेष दशैंको चहलपहल शुरु हुने गर्दछ ।

फुलपातीको दिनदेखि सरकारले सार्वजनिक बिदा दिएको छ ।   
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?