महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा भूत मेला शुरु

गौशाला । महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको छ । 

भूत मेला परम्परादेखि बडादशैँका बेला सञ्चालन हुँदै आएको हो ।

जिल्लाको औरही नगरपालिका–७ मा अवस्थित उक्त शक्तिपीठमा आज बडादशैँको सप्तमी तिथिदेखि यहाँ भूतमेला शुरु भएको सोनमाई माताका मुख्य पूजारी कामेश्वर झाले बताएका छन् । 

बिजयादशमीको दिनसम्म आयोजना हुने उक्त मेलामा हजारौँ पीडित ९कारनी० का साथै अन्य दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ । 

उक्त शक्तिपीठमा पूजा–पाठ गरे भूत प्रेत, बोक्साबोक्सी र दुष्टात्माले सताइएका व्यक्तिलाई निको हुने विश्वासमा नेपाल तथा भारतका विभिन्न जिल्लाका हजारौँ भक्तजन तथा सताइएका व्यक्ति आउने गरेको अर्का पूजारी झगरु झाले बताए ।

भूत प्रेतका कारण रुँदै कराउँदै यहाँ आउने व्यक्ति दर्शन पछि पीडामुक्त भई हाँस्दै जाने गरेको यहाँका झाँक्रीहरु बताउँछन् ।

उक्त शक्तिपीठमा दर्जनौँ धामी झाँक्रीहरु रातदिन भजन किर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने २४ सै घण्टा विराजमान हुने माता सोनामाईले तिनको पीडा हर्ने गरेको कुरा अर्का पूजारी घनश्याम झाले बताए । माताको दरवारमा एक पटक पुग्ने पीडित व्यक्तिमा फेरि कहिल्यै पनि भूत प्रेत र बोक्साबोक्सीको शक्ति नलाग्ने विश्वास छ । 

पीडित तथा भक्तजनहरुको सुविधाका लागि रात्रि बास र सुरक्षाको राम्रो प्रबन्धसमेत मिलाइएकाले यसवर्ष पाँच देखि सात लाख भक्तजन सहभागी हुने अनुमान रहेको सोनामाई पूजा समितिले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?