पार्टी विधानमा उल्लेखित विषय फरक–फरक भएपछि राजपा भित्रै विवाद शुरु

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालमा पार्टी विधानमा उल्लेखित विषयलाई लिएर विवाद शुरु भएको छ ।

पार्टीले नेता तथा कार्यकर्तालाई बाँडिएको विधान र निर्वाचन आयोगमा दर्ता भएको विधानका विषयलाई लिएर विवाद शुरु भएको हो । 

नेता तथा कार्यकर्तालाई बाँडिएको विधान र निर्वाचन आयोगमा दर्ता भएको विधान फरक–फरक भएपछि पार्टी भित्रै विवाद उत्पन्न भएको छ । 

स्रोतका अनुसार अध्यक्ष मण्डलका ६ जना नेताहरुले महाधिवेशनपछि पनि अध्यक्ष मण्डाल कायमै हुने गरी निर्वाचन आयोगमा विधान दर्ता गरेपछि विरोध शुरु भएको हो ।

यसअघि राजनीतिक समितिको बैठकले विधान मस्यौदालाई अन्तिम रुप दिएर आगामी वैशाख दोस्रो साता महाधिवेशन गर्ने निर्णय गरेको थियो । 

त्यस्तै नेता कार्यकर्तालाई बाँडिएको विधानमा महाधिवेशन पछि अध्यक्ष मण्डल स्वतः खारेज हुने उल्लेख छ भने निर्वाचन आयोगमा बुझाइएको विधानमा अध्यक्ष मण्डलको पदावधि जारी रहने उल्लेख छ ।

राजपाका एक नेताका अनुसार अध्यक्ष मण्डलका नेताहरुले निर्वाचन आयोगमा छुट्टै विधान दर्ता गराएर नेता कार्यकर्तालाई धोका दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?