‘सुसाइड नोट’को सट्टामा फेसबुक लाइभ?

काठमाडौं । सन् २०१५ को अन्त्यमा फेसबुकले एउटा नयाँ ‘फिचर’ को विकास ग-यो : फेसबुक लाइभ । अर्थात् फेसबुकबाट प्रत्यक्ष प्रसारण ।

सो फिचरको विकास भएसँगै हामीले सबैसँग ‘सेयर’ गर्न चाहेका रमाइला क्षण, सेलिब्रेसन, महत्त्वपूर्ण घटना आदि बासी हुनुपरेन । हामीले ‘भोलि’ कुर्नुपरेन । जुनसुकै माहोललाई जस्ताको त्यस्तै र उत्ति नै वेला फेसबुकमा राख्न मिल्ने भएकाले ‘फेसबुक लाइभ’ ले फेसबुकमा ताजापन ल्याइदियो । वर्षौंदेखि फेसबुकमा तस्वीर र रेकर्डेड भिडियो मात्रै राख्दै आएका प्रयोगकर्ताहरु एकाएक रमाए ।

साथीभाइ वा परिवारसँगको रमाइलो, घुम्न गएको ठाउँ, महत्त्वपूर्ण कार्यक्रम वा सभा, समारोह आदिजस्ता खुसीका पललाई ‘डाइरेक्ट’ सबैसमक्ष पु-याउन सकिने भएकाले पनि केही समयमै ‘फेसबुक लाइभ’ ले व्यापक लोकप्रियता हासिल ग-यो ।

निसन्देहः गायनमा रुचि भएकाहरुका लागि गाउने, नृत्यमा रुचि भएकाहरुका लागि नाँच्ने, शिकारु लेखकहरुका लागि आफ्नो रचना साथीभाइसँग बाँड्ने राम्रो मञ्च बन्यो ‘फेसबुक लाइभ’ । तर, एकाएक यसको लोकप्रियता तब सस्तियो, जब यसलाई मान्छेहरुले आफ्नो सस्तो लोकप्रियताका लागि दुरुपयोग गर्न थाले । अहिले ‘फेसबुक लाइभ’ अश्लीलता /उत्तेजना छताछुल्ल पोख्ने र हिंस्रक क्रियाकलापहरुलाई प्रोत्साहन गर्ने भद्दा अनि कहालीलाग्दो स्थानका रुपमा परिवर्तन हुँदै गएको छ ।

त्यसको उदाहरण स्वरुप अर्धनग्न अवस्थामा फेसबुकमा लाइभ आएर विभिन्न अश्लील शब्द बोल्ने र उस्तै हर्कत गर्नेदेखि फेसबुक लाइभमै आएर आत्महत्या गर्नेसम्मका घटनाहरु हामीले सुन्दै आएका छौं । सुनिरहेकै छौं ।

सन् २०१७ जनवरी २२, स्वीडेनमा एउटा यस्तै दर्दनाक घटना भयो ।

फेसबुकमै लाइभ गएर ३ युवकले एक युवतीलाई बलात्कार गरिरहेका थिए । सो भिडियो देख्नासाथ २१ वर्षे जोसेफिन लन्डग्रेनले पुलिसलाई जानकारी दिइहालिन् । उनले सो भिडियो हेर्दा करिब ६० जना अरु पनि सो भिडियो हेर्दै थिए । तर, उनीहरुले पुलिसलाई जानकारी दिन जरुरी सम्झेनन् । बरु त्यो दृश्यको मजा लुटिरहेका थिए । ‘एकजनालाई तीन जनाले हाहाहा’ एक जनाले त कमेन्ट पनि लेख्न भ्याइसकेका थिए ।

पछि पुलिस ती युवकहरुलाई पक्राउ गर्न पुग्दासमेत उनीहरु उसैगरी बलात्कार गरिरहेका थिए ।

***

यसरी फेसबुकमै लाइभ गएर कुनै युवतीको बलात्कारको दृश्य प्रसारण गरेको सुनिन्छ भने केही यस्ता युवती पनि छन् जो आफै फेसबुकमार्फत् यौनजन्य क्रियाकलापलाई प्रोत्साहन गरिरहेका छन् । मध्यरातमा अर्धनग्न अवस्थामा लाइभ आउने अनि विभिन्न भावभङ्गीमा अश्लील शब्द बोलेर आफूलाई भद्दा रुपमा प्रस्तुत गर्ने, अन्तरवस्त्रका बारेमा चर्चा गर्ने, दर्शकले गरेको अश्लील कमेन्टहरुमा रमाउने जस्ता अनैतिक, पचाउनै नसकिने क्रियाकलापहरु मार्फत् रातोरात भाइरल भइरहेका छन् ।

यसैगरी भाइरल भएकी एक पात्र हुन् तिर्सना बुढाथोकी । उनलाई नचिन्ने फेसबुक प्रयोगकर्ता कमै होलान् । नचिन्ने कोही छ भने उसलाई चिन्नेले चिनाइ नै हाल्छ । कारण : ‘फेसबुक लाइभ’ । उनी सेकेण्ड सेकेण्डमा लाइभ आउँछिन् । कहिले नाच्दै, कहिले गाउँदै, कहिले लाजमर्दा शब्दहरु बोल्दै, कहिले  त बाथरुमबाटै । हेर्न नसकिने दृश्य दिन र सुन्न नसकिने शब्द बोल्न उनलाई कुनै लाज छैन । आखिर, दर्शकले हेर्न र सुन्न रुचाएका पनि तिनै कुरा न हुन् । तृष्णा बुढाथोकी नामक उनको फेसबुक पेजमा २ लाख भन्दा बढी फलोअर्सहरु हुनुले पनि यही सङ्केत गर्छ ।

अगस्ट ९ राति १० बजे उनी उसैगरी फेसबुकमा लाइभ आइन् । खाना खाँदै । अर्धनग्न अवस्थामा । लाइभ हेर्नेको भीड लाग्यो । भटाभट कमेन्ट पनि आउन थाले ।

‘छि तेरो फिगर’

‘होइन त्यो कपडा खस्दैन’

‘समुद्रमा गएर हाम फालेर मर’

(उनको भिडियोमा आएका नकारात्मक कमेन्टहरुमध्ये अत्यन्तै सामान्य र श्लील कमेन्ट हुन् यी ।)

यस्ता ‘नेगेटिभ’ कमेन्टहरुको लर्को लाग्यो । तर, दर्शकको सङ्ख्या घटेन । नकारात्मक टिकाटिप्पणी गर्नेहरु पनि रमाइ रमाइ भिडियो हेरिरहेका थिए । उनीहरुको नकारात्मक कमेन्टमा तिर्सना रमाइरहेकी थिइन् । त्यसो त उनका प्रशंसकको पनि कमी थिएन ।

‘आइ लभ यू तिर्सना ।’

‘बा, जिन्दगी क्या मोज छ है ।’

‘यो हो नि त पारा ।’

केही थान राम्रा कमेन्ट देखेर तृष्णा झन् मख्ख परिन् । कमेन्ट गर्नेलाई ‘थ्याङ्क यू’ भन्न पनि भ्याइन् ।

१ घण्टा ५७ मिनेट ५२ सेकेन्ड लामो सो भिडियोलाई ४ लाख ३२ हजार अर्थात् करिब साढे ४ लाख दर्शकले हेरे, १२ हजार जनाले लाइक र रियाक्ट गर्न भ्याए । त्यस्तै, ५ सय ७३ जनाले सेयर पनि गरे । उनका भिडियोमा ७ देखि १० लाखसम्म ‘भिउअर्स’ छन् । हरेक भिडियोमा कम्तीमा १ लाख ‘भिउज’ त कटेकै हुन्छ । किशोरकिशोरीदेखि अधबैंसेसम्म लगभग सबै उमेरका व्यक्ति उनका दर्शक ।

समर्थक र आलोचकबीच टाइम टाइममा कमेन्टमै घम्साघम्सी पनि नपर्ने होइन । तर, यी सबै क्रियाकलापले तिर्सनालाई झन्झन् प्रोत्साहन गरिरहेको छ । चाहे प्रशंसामार्फत् होस् या आलोचना मार्फत् उनले भरपूर ‘पब्लिसिटी’ पाइरहेकी छिन् । यस्तो भिडियो ‘ब्यान’ गर्नुपर्छ, भिडियो बनाउनेलाई कारवाही गर्नुपर्छ भन्ने जमात पनि नभएको होइन । तर, भिडियो बनाउने मात्र दोषी कि बेतुकको अश्लील भिडियो हेरेर घण्टौं समय खेर फाल्ने दर्शक पनि दोषी ?

***
अश्लीलता मात्र होइन, फेसबुक लाइभ आजकल हिंसात्मक क्रियाकलापको समेत ‘प्ल्याटफर्म’ बनेको छ ।

२०७५ साल असोज १४ गते चितवनका २६ वर्षीय निश्चल तामाङले फेसबुकमा लाइभ गएर आत्महत्या गरे । राति साढे नौ बजे फेसबुकमै आत्महत्या गर्ने सङ्केत दिएका निश्चलले बिहान साढे १ बजे आत्महत्या गर्दासम्म सयौंले सो भिडियो हेरिसकेका थिए । उनलाई बचाउन विभिन्न फेसबुक ग्रुपहरुमा अनुरोध गरियो, प्रहरीलाई समेत जानकारी गराइयो । तर, सबै प्रयास व्यर्थ । अन्ततः उनले आत्महत्या गरेरै छाडे ।

नेपालमा यस्ता घटना कमै सुनिए पनि विदेशमा यस्ता घटनाहरु भइरहन्छन् । मनोविश्लेषक बासु आचार्य भन्छन् – यो यसलाई देखासिकीको उपज हो ।

अर्थात् एउटा घटनाले थप यस्तै प्रकृतिको घटनालाई प्रोत्साहन गर्छ । आत्महत्या गर्ने योजना बनाइसकेको मान्छेले मर्ने बेलामा पनि सहानुभूति पाऊँ भन्ने भावना राखेर पनि यस्तो गर्ने उनको भनाइ छ ।

विदेशमा भएका केही दर्दनाक घटनाहरु:

– अमेरिकाको अलाबामाका ४९ वर्षे जेम्स एम जेफ्रीले प्रेमिकासँग ‘ब्रेक अप’ भएपछि फेसबुकमा लाइभ आएर आफैलाई बन्दुक हानी आत्महत्या गरेका थिए । सो भिडियो १ हजार जनाले हेरेका थिए ।

– अमेरिकाकी १२ वर्षे क्याटेलिन निकोल नामक १२ वर्षे बालिकाले आफूलाई आफन्तले दुव्र्यवहार गरेको भन्दै फेसबुकमा लाइभ गएर आत्महत्या गरेकी थिइन् ।

– थाइल्यान्डका २० वर्षीय वुत्तिसन वङ्तले नामका युवकले श्रीमतीले धोका दिएको आरोप लगाउँदै फेसबुकमा लाइभ आएर ११ महिने छोरीको हत्या गरे । हत्या पश्चात् उनले आत्महत्या गरे । सो भिडियो २४ घण्टासम्म उनको फेसबुकमा रह्यो । फेसबुकले सो भिडियो हटाएपछि पनि भिडियोका केही हृदयविदारक क्लिप्स र फोटोहरु सामाजिक सञ्जालमा भाइरल भइरह्यो ।

– अमेरिकाको मेम्फिस शहरको एक बारमा ३३ वर्षे जेर्ड म्याक्लेमोरले फेसबुकमा लाइभ आएर आफूलाई जिउँदै जलाएका थिए ।

के भन्छन् मनोविज्ञ ?

मनोविज्ञ करुणा कुँवरका अनुसार फेसबुकमा लाइभ गएर आत्महत्या गर्नु भनेको ‘सुसाइड नोट’ को परिमार्जित स्वरुप हो । प्रविधिको विकास हुनुपूर्व सुसाइड गर्नुअघि चिठ्ठी लेख्ने चलन थियो, त्यही चलनलाई प्रविधिले आफूतिर मोडिदिएको मात्र हो । ‘सुसाइड नोट’ सीमित व्यक्तिले मात्र पढ्न पाउँथे भने फेसबुक लाइभमार्फत् आफ्नो समस्या, दुःख, पीडा झन् धेरै मान्छेमाझ पुग्छ भन्ने मनसायले व्यक्तिले यस्तो गर्ने हो ।’ मनोविज्ञ करुणाले बताइन् ।

‘बलात्कार तथा हत्या जस्ता अपराध लाइभ गर्ने कारण चाहिँ के होला ?’ हामीले प्रश्न राख्यौं ।

उत्तरमा उनले भनिन् ‘यस्तो क्रियाकलापमा संलग्न हुने व्यक्तिको मानसिकता धेरथोर सन्तुलित नभएकै हो । उसलाई आफ्नो शक्ति प्रदर्शन गर्न मन लागेको हुन्छ । यस्तो प्रवृत्ति भएका मानिसलाई ‘एक्जिबिसनिस्ट’ भनिन्छ । कसैलाई भने अरु व्यक्ति चिच्याएको, तड्पिएको सुन्दा आनन्द लाग्ने भएकाले पनि यस्तो क्रियाकलाप गरिरहेको भिडियो बनाउँछन् ।’

त्यसैगरी, करुणाका अनुसार फेसबुक लाइभ मार्फत् प्रवाह हुने हिंसात्मक तथा अश्लील भिडियोहरुमा बढी ‘भिउज’ हुनु स्वभाविक हो ।

‘मानिस जिज्ञासु हुन्छ र प्रतिबन्धित काम गर्न इच्छुक पनि, त्यसैले यस्ता हेर्न नहुने सामाग्री हेर्न चाहनु स्वभाविक मानव प्रवृत्ति हो’, उनले लोकपथलाई बताइन्, ‘हेर्ने मानिसलाई दोष दिनेभन्दा पनि सकेसम्म यस्ता सामाग्री इन्टरनेटमा राख्नै नमिल्ने र राखे पनि बालबालिकाको मानसिकतालाई सबैभन्दा बढी असर पार्ने भएकाले उनीहरुको पहुँच बाहिर राख्ने व्यवस्था मिलाउनुपर्छ ।’

***

यी सबै घटना र विकृतिका बावजुत पनि आज हामी जसरी तत्कालै हरेक सूचना, जानकारी, समाचार थाहा पाउन सक्ने भएका छौँ त्यसको श्रेय सामाजिक सञ्जाललाई नै जान्छ । तर पछिल्लो समय नेपालमा भइरहेका ‘फेसबुक लाइभ’को गलत अभ्यास र त्यसलाई पच्छ्याइरहेको जमातले नेपाली समाज र हाम्रो सामाजिक व्यवहार कता गइरहेको छ भनेर सोच्न बाध्य बनाउँछ । त्यसैले यसको समाधानका विषयमा सरोकार राख्दै बृहत छलफल गर्न जरुरी भइसकेको आवाज उठ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?