म प्रमिला । गाउँमा सबैले परी भन्छन् । नामले पनि परी कामले पनि परी नै छे यो त भन्दै गाउँका मेला र भेलामा गफिन्छन् पाकाहरु । नभनुन् पनि किन आखिर उनीहरुको वृद्धभत्ता दिन ढिला गर्ने कर्मचारीलाई अफिसमै गएर थर्काकी छु मैले ।
गाउँका केटाकेटीहरु पनि परी दिदी भन्दै झुम्मिन्थे मेरै वरिपरि । उनीहरुलाई क,ख सिकाउनेदेखि डोरी नाघि खेलाउनेसम्मको जिम्मा मेरै थियो ।
गाउँमा पूजाआजा हुँदा ढुक्कै मेरै भरमा हुन्थे सबै । काकी, ठूलेमाहरुलाई फेसबुक चलाउन र सेल्फी हान्न सिकाउने नि मै हो ।
हाम्रो गाउँमा एकचोटी नि फेल नभइ १२ कक्षा कटाउने केटी मै मात्र हो । सबैभन्दा बाठ्ठी अनि बहादुर । गाउँकी हिरो थिएँ म ।
१२ सक्नासाथ बाउआमाले ज्वाईँ खोज्न थाले । आफ्नो भने सपनै ठूलो । मन्त्रालयमा सचिवको कुर्सी ताक्ने म कहाँ गर्छुृ त ५ क्लास फेल केटोसँग बिहे !
जति सम्झाउँदा नि नमानेपछि टिरिक लाएँ । झुन्डेर मर्छु भनेर ।
गाउँमा सबकी प्यारी म । सबै गाउँले मिलेर बालाई उक्साए ।
“जाओस् न त । दुईचार अक्षर सिकेर आउँछे अनि गाउँमा हेडमास्टर्नी हुन्छे हाम्री परी ।”
उनीहरुको कुरा काट्न नसकेर बाले पनि काटिदिए टिकट अनि म सररर काठमाडौँ शहर ।
***
आएको केही दिनमै आफ्नो औकात थाहा पाएँ ।
काठमाडौँ हल्लाउँछु भनेर आएकी म, फिस्टी रहेछु । हल्लाएर पछारिदियो यो शहरले । गाउँकी बहादुर छोरीलाई डरछेरुवी बनाइदियो यही शहरले ।
हरेक चीजदेखि डर लाग्छ मलाई यहाँ ।
कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइडयुक्त हावाको सास फेर्न डर लाग्छ । युरिया र पोटाससरिको सब्जी खान डर लाग्छ ।
दिनको हल्ला र व्यस्ततादेखि डर लाग्छ । रातको सुनसान र रिक्ततादेखि डर लाग्छ ।
बसाईँ पुरानो बानेश्वर, कलेज पुतली सडक । अफिस रत्न पार्क । नीलो माइक्रोमा ओहोरदोहोर ।
खुट्टा राख्ने ठाउँसम्म थिएन अस्ति त । “आउ नानी ! यहाँ अँट्छौ, सानी छौ ।” अलि उता सर्दै एक अँधबैसे अन्कलले आफ्नो नजिकै थोरै ठाउँ बनाइदिए मेरो लागि । हँसाइ ठ्याक्कै बुबाकै जस्तो । पसिनाले निथु्रक्क उनको शरीरबाट आइरहेको दुर्गन्ध पनि मीठो लाग्यो । ठ्याक्कै बुबाकै जस्तो ।
बुबाको साइकलपछाडि बसेर खेत जाँदा ढुङ्गामा ठोक्किएर लडेको सम्झेर खिस्स हाँस्दै थिएँ अचानक केही सलबलायो मेरो कम्मरतिर । अन्कलको हात !
अब त्यो हँसाइ कुरुप लाग्यो मलाई ।
दुव्र्यवहारको प्रतिकार गर्न न मनबाट हिम्मत निस्कियो । न त घाँटीबाट आवाज नै ।
मनमनै भनेँ –“बुबा तपाईंको जस्तो हँसाइ कसैको छैन ।”
अब त मलाई सार्वजनिक गाडी चढ्न नि डर लाग्छ ।
***
केही महिना काम गरेपछि अफिसमा आउनजान गाह्रो भो भन्दै स्कुटर झिकाउँछु । अनि त यस्तो समस्या नै भोग्नुपर्दैन नि ! वाह परी मान्नुपर्छ तेरो दिमागलाई । फुरुङ्ग भएँ एकछिनमै । यस्तै हो म । खुसी हुन सानो कुरा नै काफी ।
यत्तिकैमा गल्र्याम्म आवाज आयो । झसङ्ग भएँ । रोडमा मान्छेहरु भेला भए । बाटो पुरै जाम भयो ।
‘ट्रिपरले ठक्कर दिएछ स्कुटरलाई । स्कुटर चलाउने केटी ठहरै भइछ ।’ गानगुन हल्ला चल्यो ।
मेरो स्कुटर झिक्ने प्लान क्यानसिल । सुविधाको लागि चलाइने साधन नै आफ्नो मृत्युको कारण बन्दा रहेछन् यहाँ त । सम्झिँदै डर लाग्यो मलाई ।
***
भोलिपल्ट अफिसको पहिलो दिन ।
गाउँमा एक घण्टा पछि लागेर पुतली पक्डेपछि पनि करिब यस्तै खुसी हुन्थेँ म । अनि सुनिते, सर्मिले भन्थे हैन के सारो उफ्रेकी यो केटी ? कति न विश्व सुन्दरी नै भए जतिकै खुसी हुन्छे ।
के गर्दै होलान् तिनीहरु अहिले ? सम्झिन्छन् होला र मलाई ? सुनितेको त बिहे गर्दिने भका थिए । गरी होला ।
आफ्नो मनोवादमा हराउँदै गर्दा ‘गुड मर्निङ’ भन्दै कसैले हात अघि बढायो । आत्मीय मुस्कान, मिलेको जिउडाल, छुँदा नि दाग लाग्छ जस्तै थिइ ऊ गोरी, राम्री । ‘म सोनिया । तिमी नयाँ हो यो अफिसमा ?’
‘हजुर । म प्रमिला । सबैले मायाले परी भन्छन् । तिमी त मेरी साथी सुनितेजस्तै छौ ।’ पहिलो ह्यान्डशेकमा यस्तै भनेको थिएँ मैले ।
सुनिता नै सम्झेर केही गाह्रो सारो पर्यो भने मलाई भन्नु है ।
सहर आएपछि बल्ल एउटी साथी पाएँ । मेरो खुसीको सीमा नै रहेन ।
काम जानेकी थिइन तर मिहिनेती थिएँ । सोध्दैखोज्दै बिस्तारै सबै काम सिक्न थालेँ । सोनियाले पनि निक्कै हेल्प गरी ।
एक महिना बित्यो ।
भोलि अफिसमा अर्को संस्थाबाट अतिथीहरु आउँदैछन् । हाम्रो संस्थाको बारेमा प्रेजेन्टेसन गर्ने जिम्मा तिम्रो । सरले मलाई ठूलो जिम्मेवारी दिनुभयो । औधी खुसी भएँ । राति सबै तयारी गरेर फाइल ठीक पारेँ ।
‘भोलि त स्पेशल डे हो । परीले जादू देखाउँछे मिटिङ्गमा ।’ मनको लड्डु घिउसँग भनेझैँ आफैसँग दङ्ग परेँ ।
मेरो स्पेशल डे आयो । आफ्नो टेबलमा फाइल राखेर वाशरुम गएँ । ऐना हेरेँ । कपाल मिलाएँ । ‘पर्फेक्ट परी !’
‘परी आर यू रेडी ?’ सरले सोध्नुभयो ।
‘हजुर सर । जस्ट अ मिनेट ।’ फाइल लिन आफ्नो टेबलतिर गएँ । फाइल गायब । आकाशमा उडिरहेकी परी खत्रक्कै भूईँमा पछारिइ । सबैतिर खोजेँ कहीँ भेटिन ।
पाँच मिनेट परी सुनसान भइ ।
अब के गर्ने मैले टेकेको धर्ती हल्लियो । चारैतिर सन्नाटा छायो । जे नहुनु थियो, त्यही भयो । मैले केही देखिन अँध्यारो बाहेक ।
सरले मलाई लेट नगर भन्ने भावमा अहृाइरहनुभएको थियो ।
म सम्हालिने कोसिसमा थिए । सरलाई मार्केटिङ डिपार्टमेन्टमा आउन अनुरोध गरेँ आफ्ना सारा कुरा एक श्वासमा सुनाए । सर पनि अचम्मित पर्नुभयो । तर रिसाउँदै ।
भगवान्को अनुकम्पा । सरले मलाई पेपर बिना नै जानेजतिका कुरा आर्टफूल ढंगले प्रिजेन्टेसन गर्ने अवसर दिनुभयो । त्यसै गरेँ ।
अन्तिममा ताली बज्यो । तर मेरो प्रस्तुति कस्तो गइरहेको छ मैले नै भेउ पाइरहेको थिइन ।
अफिसबाट निस्केँ । बाटोभरी बौलाएसरी हिँडे ।
राति घर पुगेपछि सरको फोन आयो । कल रिसिभ गर्ने हिम्मत सम्म पनि भएन । के भन्ने कसो भन्ने भइरह्यो । यही ‘कन्फ्युजन’ मा फोन उठाएँ ।
‘हेलो’
‘परी तिमी ठिक छौ ?’
‘हजुर सर भन्नुस् न ।’
क्रमश…..
कथाको दोस्रो अंश : शहर ! म थाकेँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया