सांसदहरु अनुपस्थित भएपछि चिकित्सा शिक्षा विधेयकको उपसमितिको बैठक स्थगित

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत चिकित्सा शिक्षा विधेयक माथि छलफल गर्न बनेको उपसमितिको बैठक स्थगित भएको छ । 

बिहीवार बिहान १०ः १५ बजे बोलाइएको उपसमिति बैठकमा सांसदहरु नै अनुपस्थित भएपछि आगामी मंसिर २ गतेसम्मलाई बैठक स्थगित गरिएको हो । 

बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल भने उपस्थित थिए । 

उनले सिंहदरबारस्थित समितिको कार्यालयमा करिब एक घण्टा सांसदहरुलाई कुरेका थिए । एक घण्टामा पनि सांसदहरु नआउपछि शिक्षामन्त्री मन्त्रालय फर्केका थिए । 

विधेयक माथि छलफल गर्न मन्त्रीलाई डाकेर सांसद्हरु नै नआएपछि बैठक स्थगित भएको हो । 

बैठकमा सहभागी हुन उपसमितिका सदस्य सांसदहरु खगराज अधिकारी र एकवाल मियाँमात्र समितिको कार्यालय आएका थिए ।

सांसदहरु अञ्जना विंशेखे, भैरवबहादुर सिंह, योगेशकुमार भट्टराई, सन्तकुमार थारु, हितबहादुर तामाङ, उमाकान्त चौधरी, गगनकुमार थापा र चित्रलेखा यादव बैठकमा अनुपस्थित भएका थिए । उनीहरुलाई बैठकमा आउन बुधबार नै समितिको कार्यालयले खबर गरेको थियो ।

चिकित्सा शिक्षा विधेयकमाथि छलफल गरि प्रतिवेदन तयार पार्न समितिले ११ सदस्यीय समिति गठन गरेको थियो । उपसमितिका ५ जना सदस्य बुधबारकै बैठकमा उपस्थित थिए । उनीहरुकै सल्लाहअनुसार बिहीबार बिहानलाई बैठक बोलाइएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?