प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, डिस्चार्ज आजै

काठमाडौं । गत सोमबारदेखि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  

शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै शिक्षण अस्पतलाका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भएको बताएका हुन् । 

आज बिहान गरिएको रगत परिक्षण तथा छाती एक्स रे आदिको रिपोर्टहरु सामान्य रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अस्पतला स्रोतले प्रधानमन्त्रीको डिस्चार्ज हुने नहुने बारे केही जानकारी भने दिएको छैन । तर, प्रधानमन्त्री ओलीको सचिवालयले भने उनको आजै साँझ डिस्चार्ज हुन सक्ने जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार ‘प्रधानमन्त्री ओलीको शुक्रबार दिउँसो २ बजे डिस्चार्जबारे सार्वजनिक गर्ने तयारी छ । सम्भवतः आजै साँझ डिस्चार्ज हुनसक्छ ।’

प्रधानमन्त्री ओलीको छातिमा संक्रमण र शरिरमा चिनीको मात्र असन्तुलित देखिएपछि सोमबार बिहान अस्पतालमा भर्ना गरिएको थियो । 

प्रधानमन्त्री ओलीको उपचारका लागि निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी, क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा. दिलिप शर्मा र एनेस्थेसियाका डा. सुवास आचार्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?