वीर अस्पतालको उपकरण खरिदमा १० करोड घोटाला

काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) ले इन्ट्रोपेरेटिभ सिटी विथ हाई इन्ड नेभिगेसन सिस्टमसम्बन्धी दुईवटा अत्याधुनिक मेसिन खरिद गर्दा झन्डै १० करोड रुपैयाँ अनियमितता गरेको पाइएको छ । अस्पताल प्रशासनले मेसिन खरिदका लागि बोलपत्र पेस गर्ने दुई कम्पनीमध्ये नियमविपरीत कम दर पेस गर्ने कम्पनीलाई अस्वीकृत गर्दै टेन्डर दिएर अनियमितता गरेको हो । अाजकाे राजधानी दैनिकमा  याे खबर छापिएकाे छ ।
 
प्याथोलोजी, न्युरोलोजी र अंकोलोजी विभागका मेडिकल उपकरणका लागि मेसिन किन्न वीर अस्पताल प्रशासनले १८ जेठ २०७४ मा खरिदसम्बन्धी निर्णय गरेको थियो । अस्पतालको खरिद प्रक्रियासँगै मेसिन उपलब्ध गराउनका लागि बायोमेड अन्तर्राष्ट्रिय कम्पनीले प्रतिमेसिन २० करोड ४९ लाख रुपैयाँका दरले दुईवटा मेसिनका लागि ४० करोड ५८ लाखको बोलपत्र पेस गरेको थियो । अर्को कम्पनी हिमालयन मेडिटेकले १५ करोड ९५ लाखका दरले ३१ करोड ३० लाख रुपैयाँको बोलपत्र पेस गरेको थियो ।

यसरी हेर्दा हिमालयन मेडिटेकले बायोमेडले भन्दा ९ करोड २८ लाख रुपैयाँ कमको दररेट पेस गरेको छ । हिमालयनको बोलपत्र स्वीकृत गर्दा राज्यकोषलाई ९ करोड २८ लाख रुपैयाँ बचत हुने अवस्था थियो । तर, वीर अस्पतालले यो तथ्यलाई बिर्संदै बढी बोलपत्र पेस गर्नेलाई स्वीकृति दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?