परदेशी भाइलाई दिदीको चिठी : लाहुरे ! हाम्रो तिहार कहिले आउँछ?

‘भाइ, मेरो हात र तिम्रो निधार मात्र खाली भएको होइन’

२०७५/०७/१५ 

भाई असीम माया !  

सञ्चै छु भन्ने बाध्यता नभएको भए दुखेको छु भन्थेँ । आशा छ, त्यहाँ तिमीलाई सञ्चै छ । 

भाइ, यसपालिको दशैँ निकै खल्लो भो ।

टीका र जमरा निधारमा मुस्कुराएनन् । तर, पोहोरजस्तै भोलिपल्टै सम्म अडिए ।

पोहोर हामीले कसले कतिदिनसम्म हजुरबुबाको हातको टिका अड्याउने भन्ने ‘प्रतियोगिता’ गरेको कुरा परदेशको प्रचण्ड तापले नपगालेको भए पक्कै सम्झेका छौ ।

यसपालि दशैँको मासु पनि धेरै खेर गयो । साँच्चिकै खल्लो भयो दशैँ । 

तिमी मिस्ड भयौ भाइ ।

बाबु,
यो सालको तिहार कसरी बित्ने होला भनेर सोचिरहेछु ।

फेसबुकमा र अरु सामाजिक सञ्जालमा साथीभाइले गरेका अनगिन्ती पोष्टहरुले तिमीलाई पनि तिहार मान्न नेपाल फर्किन मन पक्कै होला ।

आकाशमा उडेका चङ्गा, लामो छुट्टीमा घरमा बसेका केटाकेटीको उपद्रो, चौबाटोमा जम्ने तासको खाल, बारीमा ढकमक्क फुलेका फूलहरु, पोखरीको आडैमा पाकेको बिमीरो, भोगटे, सुन्तला, बजारमा बेच्न राखिएका सप्तरङ्गी टीका यी यावत् दृश्यहरुले झसङ्ग पार्दो रहेछ । 

घरबारीको सिरानको वारपार ढाकेको पाटोमा आलीबाट तत्लो पाटो छुने गरी लर्केका मखमली पन्छाएर बन्छोघाँस काट्दैगर्दा मैले पनि थोरै सम्झिन्न । यसपालि सयपत्री ढकमक्क फुलेका छन् ।

घरबारीको सिरानको वारपार ढाकेको पाटोमा आलीबाट तत्लो पाटो छुने गरी लर्केका मखमली पन्छाएर बन्छोघाँस काट्दैगर्दा मैले पनि थोरै सम्झिन्न । यसपालि सयपत्री ढकमक्क फुलेका छन् ।

यी मखमली फूलहरु पनि मलाई तिमी नआएको रिसमा जिस्काउँछन् झैँ लाग्छ । पोहोर निम्ठो २ वटा माला मात्रै पुगेको थियो । बारीका कान्लाभरी तिहार ल्याउँदै फूलहरु फुलेका छन् ।

फूलले मात्र चार÷पाँच डाली भरिन्छ होला भाइ ।

तिहार नजिकिँदै गर्दा आमा भनिरहन्छिन्, ‘बारीतिर ओर्लिन्न मन लाउन्न, कान्छोको याद आउँछ ।’

आमाले पनि तेरो कुरा गरिरहनुहुन्छ भाइ ।

आमाले चामलको पीठो पिँधेर ल्याएकी छिन् ।

पोहोर सेलरोटी अरहरा भयो भनेर यसपालि थोरै सोडा हाल्ने रे ! डोला परेका सेलरोटी पकाइदिन साइँली आमैलाई घरघरबाट बोलाउन थालिसके ।

अनि साँच्ची, तिमी अस्ति बासँग भिडियो च्याटमा किन नहाँसेको ? कान्छो बिरामी भयो कि क्या हो भन्दै बारम्बार बा चिन्ता गरिरहनुभएको छ ।

परदेश गएको मान्छेले घरदेशीलाई फोन गर्दा हाँसिदेऊ न है ? कम्तिमा बा यता खिन्न हुँदैनन् । अनि आमाका आँखा ओभाना हुन्छन् । 

परदेश गएको मान्छेले घरदेशीलाई फोन गर्दा हाँसिदेऊ न है ? कम्तिमा बा यता खिन्न हुँदैनन् । अनि आमाका आँखा ओभाना हुन्छन् । 
आमाको लागि भाइटीकाको सामान सेलरोटी सबै पकाई सकें । प्याकिङ पनि गरिदिएँ । आमाले मामाको लागि एकजोर राम्रा लुगा किनेकी छिन् यसपालि । बाले फुपूहरुको लागि स्पेशल गिफ्ट तयार पारिसके । राम्रा धोतीचोलो किनिदिएका छन् फुपूहरुलाई । फुपूहरु लक्ष्मीपूजाकै दिन आउनुहुन्छ रे ! अँ, नगरकोटे दिदीको चाहिँ आउन नमिल्ने भयो रे !
तिम्रा साथीहरु प्रदिप, सुदीप, कान्छो, हरि, देव, दिपेन्द्र नेपाल नै छन् । हरि र देव भाइटीकाको पर्सिपल्ट जाने रे ! उनीहरुको कम्पनी राम्रो परेको छ रे ! 

अस्ति आमाले बिहाबारी गरेर जाओ भनेको मुखामुख गरेर हाँस्दै थिए । तिनीहरुको लभ परेको छ होला है? तिमीलाई त भन्लान् नि । प्रदीप, सुदीपको घर माथिको दोबाटोमा लिङ्गेपिङ हालेका छन् ।  भाइटीकाको भोलिपल्ट निकाल्ने गरी । 

संगीता, पार्वती उजेलीहरुको ‘क्लोज क्याम्प’ चलिरहेको छ । भैलीनी आइन् आँगन.... गीतमा नाच्नका लागि । 

काकीहरुको आमा समुहले लक्ष्मीपूजाको दिन दिउँसो भैली खेलेर एम्बुलेन्स किन्ने योजना बुनेका छन् ।

अंकलको छोराले पटका किनिसक्यो । विवेकहरुको छुट्टै टिम छ रे भैलो खेल्ने ।

राँके बत्ती बनाइदिन अस्ति बुबालाई चुक्ली लाउँदै थियो ।

पल्लो गाउँमा अंकलहरुको तासको खाल जम्न थालिसक्यो । अँ अस्ती मम्मी र मैले तास खेलेको  नि ! ‘शो फरास’ । मैले जिते । मम्मीलाई एक्का पर्दा मैले बास्साले जित्छ भनेर सय रुप्पे खाइदेको । 

पल्लो गाउँमा अंकलहरुको तासको खाल जम्न थालिसक्यो । अँ अस्ती मम्मी र मैले तास खेलेको  नि ! ‘शो फरास’ । मैले जिते । मम्मीलाई एक्का पर्दा मैले बास्साले जित्छ भनेर सय रुप्पे खाइदेको । 


भाइ, तिम्रो कम्पनी कस्तो परेको छ ? कति सुविधा छ ? बिमारी पर्दा छुट्टी लिन पाउँछौ कि पाउँदैनौँ ? खाना कहाँ कसरी खान्छौ ? बस्ने ठाउँ कस्तो छ ? साथीसंगत कस्तो छ ? त्यो देशको कानूनका बारेमा जान्यौ होला नि है ? त्यो हुण्डीसुण्डी गर्न पर्दैन है भन्देको छु  । नेपालको कानूनमा त्यो कारोबार अवैध हो । साथीहरुले जिस्केर गाँजा, भाङ खालान् होस पु–याएका छौ कि छैनौँ ? अँ साच्ची, त्यो माथि कुमारेको आमाले कुमारेलाई अचार खान पठाएको भाङ प्रहरीले पक्राउ गरेर लागुपदार्थ ओसारपसार गरेको आरोपमा पक्राउ गरेछन् ।  कठै कुमारेको आमाको होस हराएको छ । अर्काको देश र कानून नजान्दा कति नेपाली दाजुभाइ दिदीबहिनीले दुःख झेल्नु परेको छ तिमीले पनि थाहा पाएका होलाऊ  । कम्तिमा यति थाहा पायौ भने तिमीलाई अप्ठेरो नपर्ला कि भन्ने लागिरहन्छ तर आमा बाका अगाडि यी सबै कुरा गर्दा उहाँहरुलाई चिन्ता हुन्छ भनेर मैले हाई हेल्लो मात्रै गर्ने गरेकी थिएँ । आज मौका मिल्यो । नढाँटी जवाफ दिनू । 


तिम्रो ''उनी''ब्याचलर्स सेकेण्ड एअर पढ्न रेडी भएर बसेकी छिन् । तिहार लगत्तै उनको कलेज लाग्छ रे ! अस्ति बजारमा शपिङ गर्दा भेट भएको थियो । कुर्ता सलवारमा खुबै राम्री देखिएकी थिई । 


भाइ, समाचारमा पढेकी छु मेरो हात र तिम्रो निधार मात्रै खाली भएको होइन । हजारौँ नेपाली दिदीबहिनी दाजुभाइले वर्षौंदेखि वर्षौंसम्म टिका लगाउन नपाएका छन् । आज महशुस भयो मन कति पोल्दो रैछ । 

हामी दुवै अभागी रहेछौँ । प्यारो भाइ खाडीमा पसिना चुहाउँदैछ । यता दिदी बारीभरी फूलेका मखमली, सयपत्री र गोदाबरी फूलहरु हेरेर परेली भिजाउँदै छे ।

हामी दुवै अभागी रहेछौँ ।

प्यारो भाइ खाडीमा पसिना चुहाउँदैछ । यता दिदी बारीभरी फूलेका मखमली, सयपत्री र गोदाबरी फूलहरु हेरेर परेली भिजाउँदै छे ।

भाइ, तिमीले पढेका छौ । गाउँका अरु ५/७ जना दाजुभाइ दिदीबहिनीको युवाजमात तयार गरेर नेपालमा नै केही गरौँ न हुन्न ? सँगै भएपछि वर्षौ दुखजिलो गरेतापनि कम्तिमा दशैँ, तिहार, नेपाल सम्बत्, छठ, नयाँ वर्ष, होली जस्ता चाडबाडमा धक फुकाएर रमाउन त पाइन्छ । बल्ल हाम्रो बारीमा फूलेका सयपत्री र मखमलीहरु मुस्कुराउँछन् होला ।

खुलेर फूल्छन् होला ।

तिमी हाँसौला ।

म हाँस्छु । 

अर्को साल सप्तरङ्गीले तिम्रो निधार सजाउने सपना साँचेकी तिम्रो दिदी अन्जना ।

पशुपतिनाथले रक्षा गरुन् । 

अहिलेलाई विदा । 

Leave a comment