सुखी नेपाली र समृद्धि नेपालको अभियान सफल हुन्छ : नेता नेपाल

भक्तपुुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुखी नेपाली र समृद्धि नेपालको अभियान सफल हुने बताएका छन् ।  

सूर्यविनायक नगरपालिका–५ स्थित सूर्यनगर टोल विकास समाजले आयोजना गरेको दीपावली, नेपाल संवत् ११३९ तथा छठको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै उनले नेपालको समृद्धिको शुरुवात भइसकेको बताएका हुन् । 

नेता नेपालले शङ्करापुर नगरपालिका, कोटेश्वर, कागेश्वरी मनोहरालगायत काठमाडौँ उपत्यकाका सबै सडक आगामी दुई वर्षभत्रमा कालोपत्र हुने र उकालोमा ढलान हुने बताए । 

विगतमा निर्माण व्यवसायीको ढिलाइले निर्माण कार्यले गति लिन नसके पनि अब त्यो ढिलाइ नदोहरिने उनको भनाइ थियो । देशमा सबै जातजाति, भाषाभाषी, धर्म, सम्प्रदाय सबैलाई न्याय गर्दै सामाजिक न्यायसहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको बताउँदै उनले नेकपाको दुई तिहाइको सरकार निर्माण भएकाले देशको विकास र समृद्धि नरोकिने चर्चा गरे । 

कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकासलाई रोक्न खोज्नेलाई परास्त गर्दै आगामी चार वर्षभित्र भक्तपुरको विकासले मुहार फेर्ने बताए । 

त्यस अवसरमा ३ नं प्रदेश सांसद शशीजङ्ग थापाले अब जनताले विकास नहोला कि भनेर चिन्ता गर्नुपर्ने बेलाको अन्त्य भएको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?