आज लक्ष्मीपूजा : देउसी भैलो खेल्न बलिराजाले किन पठाए ?

आज लक्ष्मीपूजा । सारा नेपाल दियोदेखि विद्युतिय झिलिमिली बत्तीको उज्यालोमा झपक्कै बलेको छ ।

सबैजना आफ्नो घरआँगन देखि सडक, पसल आदि सफा गरेर चिटिक्क बनाउनमा व्यस्त छन् । यसरी वर्षभरि सफा नगरिने ठाउँ पनि यस दिन सफा गरिन्छ, फूल र बत्तीले सजाइन्छ । यसो गरेपछि मात्रै लक्ष्मीले हाम्रो घरआँगनमा पाउ राख्छिन्, हाम्रो जीवनमा वास गर्छिन् भन्ने हिन्दू संस्कृतिको मान्यता छ ।

लक्ष्मी पूजा सँगसँगै ‘देउसीभैलो’ पनि खेलिने भएकाले आजको दिन खास छ । हरेक वर्ष लक्ष्मी पूजाको दिनदेखि मात्रै ‘देउसीभैलो’ खेलिन्छ । हुन त देउसी पुरुषले अनि भैलो महिलाले खेल्ने हो भन्ने चलन छ ।  यद्यपी आजकल महिला पुरुष मिलिजुली देउसी खेल्छन् ।

यसरी भगवानको पालोदेखि नै ‘देउसीभैलो’ खेल्ने चलन कसरी रहन गयो ? किन खेलिन्थ्यो ‘देउसीभैलो’ ? यसको अर्थ के हो ? भन्ने प्रश्नमा संस्कृतिविद् डा.देवमणी भट्टराई भन्छन्, ‘देउसीभैलो रमाइलोका लागि नभएर कुनै विशेष कामका लागि खेलिएको थियो । किन भनेर बुझ्न एकपटक त्यो समयलाई फर्केर हेर्नुपर्ने हुन्छ ।’

उनले बताएअनुसार बलिराजाले संसारकै ठूलो यज्ञ आयोजना गर्न लागेका थिए । त्यही महायज्ञका लागि आवश्यक धनराशी लगायत सामाग्रीहरु जुटाउनलाई बामन भगवान विभिन्न ठाउँमा माग्दै हिँडे । उनीसँगै त्यस ठाउँका अन्य व्यक्ति पनि समूह बनाएर माग्न हिँडे । यसरी माग्ने क्रममा उनीहरुले भनेको ‘देउ श्री’ अर्थात् ‘पैसा देउ’ पदावली अपभं्रष भएर ‘देउसीरे’ भएको हो । 

‘देउसी खेल्दा ‘हामी त्यसै आएका होइनौं । बलि राजाको हुकुमले गर्दा’ भन्नुको कारण यही हो ।’ भन्दै डा.भट्टराईले कारण खुलाए । 

त्यस्तै, घरका सबै पुरुष सदस्य माग्नलाई महिनौं, वर्षौं अरु ठाउँमा पुगेका बेला घरमा बस्ने महिलाहरुले पनि आफ्नो मन बहलाउनका निमित्त ‘भैलो’ खेले । ‘त्यहीँदेखि देउसीभैलोको परम्परा शुरु भएको हो ।’ डा.देवमणीले थपे ।

समय बदलियो तर, चलन बदलिएको छैन । यद्यपी, देउसीभैलो खेल्ने शैलीमा भने निकै परिवर्तन आएको महसुस गर्न सकिन्छ । ‘धेरै पैसा उठाउनलाई देउसी खेल्ने, देउसीकै नाममा विभिन्न असुहाउँदिला, उच्छृङ्खल हर्कतहरु गर्नाले समाजमा विकृति भित्रिरहेको छ ।’ त्यसैले संस्कृतिविद्हरु पनि यस विषयलाई लिएर चिन्तित भएको देवमणीले बताए । ‘हाम्रो संस्कृति विकृतिमा परिणत नहोस् भन्ने हाम्रो इच्छा हो ।’ उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?