तिहारले छोएन खोप्री गाउँलाई

जुम्ला । नेपाली हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहारले नेपालभर रमझम गराउँदा तिला गाउँपालिका–९ जुम्लाको खोप्री गाउँवासीमा भने यो पर्वको कुनै रौनक छैन । 

यतिखेर त्यहाँका समुदायले वर्षेबाली भण्डार गरिसके पनि अहिले उनीहरू चिसोबाट गाईवस्तुलाई जोगाउन घाँसपात जम्मा गर्ने र हिउँदे समयका लागि दाउरा तथा स्याउला सोत्तर जोहो गर्न तल्लिन छन् । निरन्तर आफ्नो काममा तल्लीन उनीहरुको दीपावली गाउँ शहरको जस्तो छैन ।उक्त गाउँपालिकाको प्रशासनिक केन्द्रबाट पाँच र जुम्ला सदरमुकामबाट ११ घण्टा पैदलयात्रा हिँड्नुपर्छ । 

अहिलेसम्म दीपावली गर्ने, देउसी–भैलो खेल्ने कोही पनि त्यहा नपुगेको स्थानीयवासी बलवीर थापाले बताए । “हामीले आजका दिनसम्म देउसी, भैलीको सगुन कसैलाई दिनसम्म पाएका छैनौैँ”, उनले भने, “न त्यहाँ अहिलेसम्म देउसी भैलो गएका छन् न त भोट माग्ने राजनीतिक दलका नेताहरु नै आउँछन् ।” 

उहाँको गुनासो थियो “प्रकृतिले खोप्रीवासीलाई ठगेकै थियो अझै त्यसमा वर्षमा एक पटक आउने पर्व दीपावलीको मनोरञ्जन साटासाट गर्नसमेत पाउँदैनौँ । बाउन्न घरधुरी रहेको हाम्रो अवस्था के छ भन्ने बुझ्नसमेत अहिलेसम्म राज्यका कुनै पदाधिकारी आइपुगेका छैनन् । ” 

अर्का स्थानीयवासी कालीबहादुर थापाले भन्नुभयो, “हाम्रा निम्ति राज्य चरीको दूतजस्तै भएको छ । सरकार कहाँ छ न हामीलाई थाहा छ, हामी कहाँ छौँ न सरकारलाई वास्ता छ ।” राजनीतिक, सामाजिक र शैक्षिक निकायमा यहाँको मान्छे उच्च पदमा नपुगेकाले आजसम्म आफूहरु उपेक्षित भएको र विकासका हिसाबले पनि पछि पारिएको उहाँको आरोप थियो । 

सोही स्थान निवासी गोरीकला रावतले पुर्खौंदेखि अन्न उत्पादन र भेडाबाख्रा पालनमै हामीले पसिना बगाएर जीवन गुजारिरहेका छौँ । दीपावलीमा नाच्ने गाउँने भन्ने कुरा आफ्ना लागि धेरै टाढाको विषय भएको बताए ।सोही वडाका वडाध्यक्ष अग्नि बोहोराले खोप्रीगाउँ शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत् र सञ्चार सबैमा पछि परेकाले पाँच वर्षभित्र सबै पूर्वाधार जोड्ने योजनाका साथ लागि परेको छु । यसका लागि स्थानीय सरकारका प्रमुख र स्थानीय समुदाय दुवैको सहयोग चाहिन्छ भने । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?