कैदीबन्दीले टीका लगाउने समय तोकियो

बझाङ– बझाङ जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि भाइटीकाको दिन टीका लगाउने तथा आफन्त भेट्ने निश्चित समय तोकिएको छ ।
 कैदीबन्दीले टीकाको दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म आफन्तजन भेटघाट तथा टीका ग्रहण गर्न पाउनेछन् ।

४२ कैदी र ११ थुनुवा गरेर ५३ कैदीबन्दी रहेको जिल्ला कारागारमा सात घण्टा भेटघाटको समय दिइएको जिल्ला कारागारका प्रहरी प्रमुख भरत विकले बताए ।

जम्मा २५ कैदीबन्दीको क्षमता रहेको जिल्ला कारागारमा हाल ५३ जनाले कष्टकर जीवन बिताउँदै आएका छन् । खानेपानी, चर्पी र ढल निकासको समेत राम्रो व्यवस्था छैन । विसं २०४० मा निर्माण गरिएको कारागार भवन निकै जीर्ण अवस्थामा छ ।

यसअघि गत जेठ १२ गते लगातार तीन दिनसम्म परेको वर्षाका कारण जीर्ण जिल्ला कारागारको १५ मिटर घेरबार भत्किँदा कारागारमा रहेका कैदी तर्सिएका थिए ।
सुत्ने ठाउँ नभएर आलोपालो गरी राति सुत्ने गरेका छन् । जस्ताले छाएको भवनको चारैतिर प्वालनै प्वाल छन् । हिउँदयाम शुरु भइसकेकाले चिसोका कारण निकै असहज हुने गरेको कैदीहरुको गुनसो छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?