लेकसाइडमा भाइटीका महोत्सव : अन्तरदेशीय सम्बन्ध जोड्दै भाइटीका

पोखरा– जर्मन नागरिक म्यारिक शिरमा ढाका टोपी र गलामा सयपत्रीमाला अनि शिरमा ढाका टोपीमा सजिएका थिए ।

उनी निकै प्रसन्न देखिन्थे । सायद उनले मनभित्रको खुशी शब्दमा व्यक्त गर्न सकेका थिएनन् ।

जीवनमा पहिलोपटक ढाका टोपी र सयपत्रीको मालामा सजिएर भाइटीका लगाएका उनले मात्रै यति भने, “मलाई निकै रमाइलो लागेको छ । टोपी, माला अनि टीकाले मलाई राम्रो देखिएको छ । यो क्षण म जीवनमा कहिल्यै भुल्न सक्दिन ।”

इजरायली नागरिक नेप्चेनले पनि निधारमा भाइटीका लगाउन पाउँदा निकै खुशी लागेको बताए । “दिदीबहिनीले टीका लगाएर ढाका टोपी लगाउँदा निकै खुशी लागेको छ” संस्कार र संस्कृतिले सम्पन्न देशमा आएर बहिनी बनाउन पाउँदा निकै खुशी लागेको उनको प्रतिक्रिया थियो । पहिलोपटक नेपाल आएका उनीहरुका लागि तिहार पर्व नौलो मात्र लागेन, अविस्मरणीय क्षण बन्न पुग्यो ।

चौथोपटक भाइटीका लगाएकी नेदरल्याण्डकी हिल्लटेजि भन् मिक्करिन भाइटीकाले आफूलाई नेपालप्रतिको मायामा झनै प्रगाढ बनाएको प्रतिक्रिया दिइन् । टीकाको समय कुरेर बसेकी उनी केही दिनमै स्वदेश फर्कने पनि बताइन् । “यो पर्व वास्तवमा दुई देशका नागरिकबीच सम्बन्धलाई स्थापित गराएको छ । मैले चौथो पटक टीका लगाउँदै छु ।” उनले सम्भव भएसम्म हरेक वर्ष टीका लगाउन नेपाल आउने चाहना प्रकट गरिन् ।

बाह्र वर्षदेखि पश्चिमाञ्चल होटल सङ्घले लेकसाइडमा भाइटीका महोत्सवको गर्दै आएको छ । स्वदेशी तथा विदेशी पर्यटकमाझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई प्रचार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हान पोखरा च्याप्टरका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

उनले नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए ।
तुलाचन भन्छन्, ‘‘यो पर्व धर्मसँग भन्दा पनि सद्भावसँग जोडिएको छ ।’’

कार्यक्रम निकै उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको सङ्घका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक पार्वती पाण्डेले जानकारी दिइन् । उनले भनिन्“भाइटीकाकै दिन अपराह्न २ बजेबाट शुरु भएको भाइटीका कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो ।”

नेपाली परम्पराअनुसार पर्यटकलाई तिहारको टीका लगाउने, देउसी भैलो खेल्दै सेलरोटीलगायत अन्य परिकार खुवाइएको थियो । गत वर्ष १३ देशका ३५ पर्यटकले टीका ग्रहण गरेका थिए भने यस वर्ष १० देशका ६० पर्यटकलाई भाइटीका लगाएको उनले जानकारी दिइन् ।

तिहारको झिलिमिली, देउसीभैलो, सयपत्री, गोदावरी, मखमली फूलका मालाहरुले उत्सवमय वातावरणमा भाइटीका लगाएका विदेशी पर्यटक नेपाली संस्कृतिप्रति निकै लोभिएको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन गण्डकी प्रदेशका अध्यक्ष गोविन्दराज पहारीले बताए ।

कति पर्यटक तिहारको टीका लगाउनकै लागि भनेर वर्षमा एकचोटि नेपाल आउने गर्छन् ।” यस पर्वले पर्यटन प्रर्वद्धनसँगै सांस्कृतिक आदानप्रदानमा सहयोग पुगेको पहारीको भनाइ छ । पहारीले भाइटीका महोत्सवलाई निरन्तरता दिनुपर्ने बताए ।

पर्यटकलाई रेन्बो चिल्डेन होममा रहेका १० जना किशोरी एवं बालिकाले भाइटीका लगाइदिएका थिए । भाइटीकापश्चात पर्यटकहरु देउसीभैलोमा सहभागी भएर रमाएका थिए । कार्यक्रमका लागि होटल ल्याण्डमार्क र बटरफ्लाई लजले सहयोग गरेको थियो भने कार्यक्रमको प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड रहेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?