प्रविधिको प्रयोगमा नेपाल प्रहरी एसियामै उत्कृष्ठ

काठमाडौं । सूचना प्रविधिको प्रयोग गर्ने सरकारी संघसंस्थाहरुमा नेपाल प्रहरी एसियामै उत्कृष्ठ भएको छ । प्रहरीले यसवर्षको ‘डिजिटल गभर्नेन्स अवार्ड–२०१८ प्राप्त गरेको छ । 

जापानको टोकियोस्थित एशिया ओसिएनियन कम्प्युटर इन्ड्रीष्टि अर्गनाइजेसन (एसोसिआईओ)ले आयोजना गरेको ‘एसोसिआइओ समिट’ प्रतियोगितामा नेपाल प्रहरीले भाग लिएको थियो । सो प्रतियोगिता चार वटा विधामा गरिएको थियो । 

प्रहरी प्रधान कार्यालयका अनुसार, चार विधा मध्ये प्रहरी संगठनले डिजिटल गभर्नेन्स अवार्ड पाउन सफल भएको हो । सो अवार्ड बुधवार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रदान गरिएको छ । प्रतियोगितामा विश्वका २४ राष्ट्रका करीव १० हजार सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको सहभागिता रहेको थियो । 

प्रहरी प्रवक्ता उत्तम सुवेदीले डिजिटल गभर्नेन्स अवार्ड एसियाकै प्रतिष्ठित अवार्ड भएको बताए । यसअघि २०७५ सालमा भएको लिभिङ बीथ आइसिटी प्रतियोगितामा प्रहरीले नेटगियर आइसिटी अवार्ड २०१८ प्राप्त गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?