१२ देशको साझा मञ्च कोलम्बो प्रोसेसको बैठक काठमाडौंमा शुरु

काठमाडौं । वैदेशिक रोजगारीका लागि कामदार पठाउने १२ देशका उच्चअधिकारीहरुको बैठक काठमाडौंमा शुरु भएको छ । 

बिहीवारबाट शुरु भएको सो बैठकमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनामका उच्चअधिकारीहरुको सहभागिता रहेको छ । साथै शुक्रबार मन्त्रि स्तरीय बैकठ हुने छ । 

त्यस्तै आज बसेको १२ देशको उच्च अधिकारीको बैठकले कात्तिक ३० गते हुने मन्त्रीस्तरीय बैठकका लागि कार्यसूची, कार्यक्रम र निर्णयका विषयवस्तु सिफारिस गर्नेछ । सोही आधारमा मन्त्रीस्तरीय बैठकले आवश्यक निर्णयहरु लिनेछ ।

कोलम्बो प्रोसेसको स्वीकृत सञ्चालन प्रक्रिया अनुरुप अध्यक्षता गरिरहेको मुलुकले मन्त्रीस्तरीय र उच्च अधिकारी (सचिव) स्तरीय बैठकको आयोजना गर्नुपर्ने हुन्छ । यसैको लागि काठमाडौंमा अधिकारी स्तरीय एवं मन्त्रीस्तरीय बैठकको आयोजना गर्न लागिएको हो । 

अधिकारी स्तरीय बैठकको अध्यक्षता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दहालले गरेका छन् ।

बैठकमा विश्वव्यापी आप्रवासनलाई सुरक्षित बनाउन सदस्य देशले, क्षेत्रिय र द्विपक्षीय तहमा ध्यान दिनुपर्ने विषय तथा यसलाई कार्यान्वयनको क्रममा कोलम्बो प्रोसेसका सदस्य राष्ट्रहरुले अवलम्बन गर्नुपर्ने नीति, रणनीति र हासिल गर्नसक्ने लाभका विषयमा प्रस्तुति एवं छलफल गरिने छ ।

दुवै बैठकहरुमा सदस्य मुलुकका मन्त्रीहरु र उच्च अधिकारीहरुको सहभागिता हुनेछ । यसैगरी आप्रवासनसँग सम्बद्ध एक दर्जन जति संस्थाहरुका पर्यवेक्षक प्रतिनिधिहरुको पनि काठमाडौं बैठकमा सहभागिता हुने छ । उक्त बैठकमा काठमाडौं घोषणापत्र जारी हुनेछ ।

वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मञ्चका रुपमा कोलम्बो प्रोसेसको स्थापना सन् २००३ मा श्रीलंकामा भएको थियो ।

कोलम्बो प्रोसेसमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम रहेका छन् ।

कोलम्बो प्रोसेसको मुख्य उद्देश्य वैदेशिक कामदारहरुको हक र अधिकारको प्रवर्दधन, सेवा र सुविधाको संरक्षणका अतिरिक्त नयाँ गन्तव्य बजारको खोजी, विप्रेषणको वैधानिक प्रवाहको बढोत्तरी एवं आप्रवासनको व्यवस्थापकीय क्षमता विकास, तथ्यांक संकलन र विश्लेषण एवं राष्ट्र–राष्ट्र बीचको वैदेशिक रोजगार सुधारका क्षेत्रमा हुने सहकार्यलाई राख्दै आएको छ । 

नेपालले सन् २०१७ मार्च २९ देखि कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?