‘सानैदेखि अभिनय गर्छु भन्ने थियो, यो भगवानले दिएको गुण हो’

काठमाडौं । ‘झम् झ्म दर्कियो पानी’, ‘क्याम्पस पढ्न आउनी’, ‘काली रैछौ कौवा झैँ’,  ‘एबीसीडी’, ‘मलाई अमेरिका यही’ लगायत कैयन् चर्चित गीतका गायक हुन् पशुपति शर्मा । गायक मात्र होइनन्, शर्माले आफ्ना गीतमा शब्द पनि आफै लेख्छन् । संगीत पनि आफै तयार पार्छन् ।

दर्शकलाई पच्ने र रुच्ने गरी कमेडी शैलीका गीत बजारमा ल्याउँछन् उनी । दोहोरी गायनमा समेत उत्तिकै जमेका शर्मा बोल्दा पनि दोहोरीमै बोल्न सक्छन् ।

नेपाली चाडबाडका बेला त्यस्तै गीत बजारमा ल्याएर सधै चर्चामा रहने शर्मालाई रोइला गीत सुन्ने स्रोतामाझ पनि उत्तिकै सक्रिय छन् ।

लोकगीत भनेपछि सबै खालका गीत बजारमा ल्याउने शर्माको व्यस्तता पछिल्लो समय ह्वात्तै बढेको छ । कारण, उनका प्रायः गीत दर्शकले रुचाएका छन् । लोकगीतमा शर्माको डिमान्ड ब्रान्डिङ बनेको छ ।

नेपालका विभिन्न स्थानमा मात्र होइन, विदेशमा पनि शर्मालाई उत्तिकै निमन्त्रणा आउने गर्छन् स्टेज कार्यक्रमका लागि ।

देशभित्र आयोजना हुने विभिन्न कार्यक्रममा पनि पुगेकै छन् शर्मा । रेकर्ड गराएर गीत सार्वजनिक पनि गराएकै छन् । ती गीतमा अभिनय पनि आफैले गर्न भ्याएका छन् ।

‘हो, के वर्षयता धेरै व्यस्त भइयो, अब त आराम गरौँ कि भन्ने पनि लाग्न थालेको छ,’ शर्मा आफ्नो व्यस्तता सुनाउँदै भन्छन्, ‘अब पाँच÷सात वर्ष काम गर्छु, त्यसपछि यत्रो दौडधूप गर्दिन ।’
डाक्टरले बेलाबेला उनलाई आराम गर्न सल्लाह दिन्छन् । व्यस्ततासँगै बढेको खानपानको अनियमिताले पेटमा समस्या देखिएको छ उनलाई ।

‘ग्याष्ट्रिक र कब्जियतले सताएको छ, पेटमा समस्या हुँदा घाँटीमा पनि समस्या देखिने रहेछ कहिलेकाहीँ, अहिले ठीक छ ।’, शर्मा मुस्कुराउँदै सुनाउँछन् ।

यतिबेला (आज) उनी कार्यक्रमको सिलसिलामा पोखरा छन् । आजै उनलाई चितवन पुग्नु छ । र, त्यहाँ कार्यक्रम सक्नासाथ काठमाडौं फर्केर अस्ट्रेलिया जानु छ कार्यक्रमकै लागि ।

कार्यक्रमले बढायो व्यस्तता

शर्मालाई यतिबेला नेपालका विभिन्न ठाउँबाट आउने कार्यक्रमका निमन्त्रणाले व्यस्त बनाइदिएको छ । उनीसँग परिवारलाई दिने समय पनि छैन । पछिल्लो समय लोकगीत सुन्ने दर्शकको सङ्ख्या बढेसँगै चर्चित लोकगायकहरुले काम नपाउने भन्ने छैन ।

उनी स्वीकार्छन्, ‘पहिलेको तुलनामा अहिले लोकगीतलाई हेरिने सोचमा परिवर्तन आएको छ  ।’

खासमा शहरकेन्द्रीत स्रोताले लोक शैलीका गीत त्यति सुन्दैनथे । अहिले भने लोकशैलीका गीत सुन्ने स्रोता पनि उत्तिकै बढिरहेका छन् । गायक शर्माका अनुसार अहिले लोक संगीत क्षेत्रमा पनि नयाँ र राम्रा कलाकार आएका छन् । यसकारण लोकगीतको बजार पहिलेको तुलनामा अझ फस्टाएको छ ।

तर, लोकगीतको बजार पहिले पनि चट्टै हुँदै नभएको भने होइन ।

‘लोकगीत पहिले सुन्दै नसुनिने भन्ने होइन, हामी शहरमा लोकगीत नसुन्ने दर्शकसँग भिजेकाले त्यस्तो लागेको हुनसक्छ, तर थानकोट काटेपछि लोकगीतको माहोल बनिहाल्छ’, गायक शर्मा अगाडि सुनाउँछन्, ‘लोकगीतको बजार ‘पानको पात’ को बेलादेखि थियो र अहिले पनि उत्तिकै छ, गाउँतिर सधै लोकगीत नै गुञ्जिने हो, पहिलेको तुलनामा लोकशैलीका गीत बढी सुनिन थालेको चाहिँ हो ।’

नेपालीबीच मात्र होइन, विदेशमा बस्दै आएका नेपालीले पनि लोकगीतलाई उत्तिकै माया गर्ने गरेको शर्मा बताउँछन् ।

मलाई अमेरिका यहीँ, जापान पनि यहीँ

पशुपति शर्माले ‘मलाई अमेरिका यहीँ’ गीत सार्वजनिक गरेपछि उनका लागि नेपाल नै अमेरिका र जापान बनेको छ । यो गीत यति हिट बनिदियो कि, लोक पारखीको जमातमा मात्र होइन, लोकगीत न्यून सुन्ने दर्शकले पनि गीत उत्तिकै रुचाए । शर्माको व्यस्तताको घडी पनि छिटो–छिटो चल्न थाल्यो ।

यो गीत आफ्नो गीती जीवनको ‘पिलर’ बन्न पुग्यो । यो गीत रचना कसरी गरिएको थियो भन्ने लोकपथको प्रश्नमा शर्माले आफू विदेशमा कार्यक्रमका सिलसिलामा जाँदा आत्तिने गरेको र विदेशमा बस्ने नेपालीले पनि यस्तै पीडा सुनाउँदा नेपालमा पनि केही गर्न सकिन्छ भन्ने लागेर गीत लेखेको बताउँछन् ।

‘विदेशमा कार्यक्रममा जाँदा म निकै आत्तिन्छु, विदेशमा बस्ने नेपालीले पनि विदेशमा बस्दा यस्तै पीडा भोग्नुहुने रहेछ,’ शर्मा भन्छन्, ‘त्यही मर्मलाई गीत बनाएर गाएँ, खासै चल्छ जस्तो लागेको थिएन, तर यही गीत बढी चर्चित भइदियो ।’

उनलाई लागेको थियो, यो गीत त्यति हिट हुनेवाला छैन, बरु आत्मसन्तुष्टि मिल्छ । तर यही गीत अन्य गीतका तुलनामा बढ्दा हिट भइदियो । उनी भन्छन्, ‘अरु गीतले जग खन्ने काम गरेका थिए, यो गीत मेरा लागि पिलर बनिदियो ।’

आफ्ना गीतमा आफै अभिनय

पशुपति शर्मा आफ्ना गीतका भिडियोमा आफैले अभिनय गरिरहेका हुन्छन् । उनको अभिनयमा पनि विविधता पाइन्छ । गीतको कथाअनुसार आफूलाई हरेक भिडियोमा परिष्कृत गरिरहेका भेटिन्छन् ।

‘मलाई सानैदेखि अभिनय गर्छु भन्ने थियो, गीत संगीत त्यागले पाएको कुरा हो, अभिनय भनेको भगवानले दिएको गुण हो,’ शर्मा अगाडि थप्छन्, ‘म आफ्ना गीतका भिडियोमा कहिल्यै पनि तयारीका साथ जान्न, मनले जे भन्छ, त्यसरी गर्छु, दर्शकले रुचाइदिनुहुन्छ ।’

गीतमा सबै आफ्नो

गायक शर्माको अर्को विशेषता के बनेको छ भने, उनी प्रायः आफूले रचना गरेका गीतमात्र गाउने गर्छन् । तिनै गीतमा स्वर दिने गर्छन् । गीतमा आफै संगीत भर्छन् । अभिनय पनि आफैले गर्छन् ।

यसरी आफैले तयार गर्दा गीत चाहेजस्तो बनाउन सकिने शर्मा बताउँछन् । ‘अरुको गीत गायो भने भन्ने बाटो हुन्छ, आफ्नै गीत भयो भने चाहेको बेला सच्याउन पाइन्छ, गीतलाई अझै राम्रो बनाउन पाइन्छ, उस्तै परे सार्वजनिक नै नगरौँ भने पनि पाइयो, तर अर्काको गीतमा त्यस्तो हुँदैन, बन्धन हुन्छ ।’, शर्मा थप्छन् ।

यति मात्र होइन । यसरी गीतमा अभिनय, लेखन र संगीत भर्दा दिमाग पनि तेजिलो राख्न पाइने शर्माको बुझाइ छ । भन्छन्, ‘गीत लेख्न छोडियो भने सिर्जना मर्न सक्छ, मेरो दिमागलाई तेज बनाइराख्न पनि गीत लेख्ने गर्छु ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?