१३ औं महानगरीय प्रहरी दिवस सम्पन्न, १०० मा निशुल्क एसएमएस उजुरी सेवा शुभारम्भ

काठमाडौं । १३ औं महानगरीय प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लालाई समेटेर २०६३ साल मंसिरमा महानगरीय प्रहरी स्थापना भएको हो । 

महानगरीय प्रहरी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीले एसएमएसबाट प्रहरी कन्टोल १०० मा सिँधै उजुरी दिन सकिने निशुल्क तथा नयाँ सेवाको शुभारम्भ गरेका छन् । 

त्यस्तै, महानगरीय प्रहरी कार्यालय अन्तर्गत रही विशिष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान, प्रहरी कार्यमा विशेष सहयोग पुर्याउने महानुभावहरुलाई कदरपत्र र नेपाल पुलिस स्कुल सामाखुसीमा अध्ययनरत छात्रछात्रालाई छात्रवृत्ति रकम वितरण गरेका थिए । 

महानगरीय प्रहरी दिवसमा निमित्त प्रहरी महानिरीक्षक कार्कीले काठमाडौंलाई मेट्रो शहरको रुपमा विकास गर्ने र सेवा सुविधा तथा पूर्वाधार निर्माण गर्ने प्रमुख आधार भनेकै सुरक्षा भएकाले महानगरीय प्रहरीलाई विशेष अधिकार सम्पन्न बनाउनु पर्ने धारणा राखेका छन् । 

उनले महानगरीय प्रहरीलाई प्रविधिमैत्री बनाउने क्रममा सिसिटिभी, जिपिएस, डिजिटल ट्रंकिङ सिष्टम र हाम्रो पुलिस एप्स तथा ट्राफिक प्रहरी एप्स प्रयोगमा ल्याएको समेत जानकारी दिए ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरीय प्रहरीले गर्दै आएको कार्य प्रशंसायोग्य रहेको चर्चा गर्दै महानगरीय प्रहरीसँग समन्वय गर्दै अगाडि बढ्न आफू तत्पर रहेको बताए ।

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोबिन्दप्रसाद थापाले कानूनले दिएको अधिकारमा रही आफ्नो काम कर्तव्यमा अडिग भएर प्रहरीले कार्य गर्नुपर्नेमा जोड दिए ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी दिवसमा विभिन्न किसिमको आयोजना गरिएको बताए । 

यसैबीच, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक थापा क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

मुलुकी अपराध (संहिता) लागू भएपछि जनतामा कसरी कानूनी सुशासन लैजान सकिन्छ भन्ने विषयमा भएको उक्त गोष्ठीमा कानूनको पूर्ण पालना गराउने कुरामा प्रतिवद्ध हुनु पर्ने बताइएको छ । 
उक्त छलफल तथा गोष्ठीमा उठेका जिज्ञासा र त्यसको निरुपणले आगामी दिनमा अझ दरिलो भई अगाडि बढ्न मद्दत पुग्ने दावी उनको छ । 

कानूनको पालना र प्रमाणमुखी अनुसन्धानमा देखा परेका जटिलतामा सुधार गर्न गोष्ठीले थप सहयोग पुग्नको साथै कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीहरूलाई मार्गदर्शन मिल्ने अपेक्षा गरिएको छ । 

गोष्ठीमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामा र भक्तपुरका जिल्ला न्यायधिवक्ता चन्द्रकुमार पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए । 

प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले गोष्ठीको उद्देश्यका बारेमा जानकारी गराएकी थिइन । गोष्ठीमा प्रस्तुत गरिएका कार्यपत्रमाथि सहमहान्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिना, नेपाल बार एशोसिएसनका उपाध्यक्ष मोतीराज गौतम, सरकारी वकिल र उपस्थित प्रहरी अधिकृतहरूले टिप्पणी गर्नुका साथै समस्या र समाधानका उपाय बारेमा सुझाव दिएका थिए ।    

उक्त कार्यक्रममा मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ कार्यान्वयनमा आएपछि कार्यक्षेत्रको विद्यमान अवस्थामा देखा परेका चुनौती र समाधानका उपायहरुको बिषयमा छलफल भएको थियो । 
        
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?