३५ लाखको लगानी जडित सिसिटिभी क्यामरा प्रयोगबिहीन

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाका मुख्य बजार तथा सडक क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामरा बन्द छन् । 

नुवाकोट उद्योग वाणिज्य सङ्घको पहलमा जडान गरिएका २५ थान सिसिटिभी क्यामरा प्रयोगबिहीन छन् । 

सङ्घको पहलमा ३५ लाखको लागतमा ती क्यामरा जडान गरिएका हुन् । क्यामरा बिग्रिएपछि मर्मत गर्न सम्बन्धित पक्षले चासो देखाएको छैन । एक वर्षदेखि बिग्रन थालेका क्यामरा क्रमशः सबै बिग्रिएका प्रहरी उपरीक्षक वसन्त कुँवरले बताए ।  

एक वर्षअघि सङ्घले साविक जिल्ला विकास समिति, विदुर नगरपालिका, विभिन्न बैंक तथा वित्तीय संस्थासँगको साझेदारीमा क्यामरा जडान गरेको हो । 

“आठ लाख जडान गर्ने कम्पनीलाई भुक्तानी गर्न बाँकी छ,” नुवाकोट उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष गीता अमात्यले भनिन् । सरोकारवाला संस्थाबाट आर्थिक सहयोग उपलब्ध नहुँदा बिग्रिएका क्यामरा मर्मत गर्न नसकिएको हो ।

गगङ्टेदेखि बट्टार, विदुर, ढुङ्गे हुँदै त्रिशूलीसम्मको पाँच किलोमिटर क्षेत्रको मुख्य सडकमा जडान गरिएका क्यामराको सहयोगमा सदरमुकामसहित बजारक्षेत्रमा शान्ति, सुरक्षा कायम गराउन तथा चोरी र अपराधका घटना कम गर्न सहयोग पुगेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?