कर्णाली प्रदेश सरकारद्वारा प्रदेश योजना आयोग गठन

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोग गठन गरेको छ । मंगलवार विहान सम्पन्न मन्त्रीपरिषद वैठकले मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा ६ सदस्यीय योजना आयोग गठन गर्ने निर्णय गरेको हो । 

मन्त्रीपरिषद वैठकले योजना आयोगको उपाध्यक्षमा दैलेखका डा.पुण्य रेग्मी, सदस्यहरुमा हुम्लाका डा.दिपेन्द्र रोकाया र दैलेखका योगेन्द्र शाहीलाई मनोनयन गर्ने निर्णय गरिएको सरकारकी प्रवक्ता एवं भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिए । 

त्यसैगरि योजना आयोगको पदेन सदस्यमा प्रदेश सरकारका प्रमुख सचिव र सदस्य सचिवमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहने व्यवस्था रहेको छ । 

योजना आयोगका उपाध्यक्षलाई प्रदेश राज्यमन्त्री सरहको र सदस्यहरुलाई प्रदेश सभा सदस्य सरहको सेवा सुविधा दिने निर्णय पनि मन्त्रीपरिषद वैठकले गरेको प्रवक्ता केसीले जानकारी दिए । 
आयोगको उपाध्यक्ष मनोनयन भएका डा. पुण्य रेग्मी कृषि क्षेत्रका विज्ञ हुन् । भरतपुरको रामपुर क्याम्पसमा ३० वर्ष कृषि अर्थशास्त्र विषयको प्रध्यापन गरेका रेग्मीले योजना र विकासमा पिएचडि गरेका छन् ।  

उनले  अर्थमन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार, युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षका रुपमा समेत काम गरि सकेका छन् । कर्णाली प्रदेश सरकारको विज्ञ समुहको सदस्य समेत रहनुभएका रेग्मी काउन्शील फर ईन्टरनेशनल रिलेशन एण्ड ईकोनोमीक डेभ्लोप्मेण्टका अध्यक्ष हुन् ।  

आयोगको सदस्यमा मनोनयन ुभएका सर्केघाट ८, रादेउ हुम्ला निवासी दिपेन्द्र रोकायाले २५ वर्षदेखि जनपक्षिय पत्रकारिता गर्दै आएका छन् । ग्रामीण विकास र राजनीति शास्त्रमा स्नाकोत्तर रोकायाले नेपालको राजनैतिक द्धन्द्ध व्यवस्थापनमा वैदेशिक सहयोगको प्रभाव शिर्षकमा पिएचडि गरेका छन्  ।

युद्धपत्रकारिताको अनुभव समेत गरेका रोकाया श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक निर्धारण समितिको सदस्य समेत भएका छन् ।  

योगेन्द्र बहादुर शाही जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकास तथा प्राकृतिक श्रोत साधन व्यवस्थापनमा एम फिल गरेका छन् । उनी विश्व प्रजातान्त्रिक युवा संघका उपाध्यक्ष तथा नेपाल सरकारको युवा नीति २०१५ तथा युवा विकासका लागि १० वर्षे रणनीतिक कार्ययोजना युथ भिजन २०२५ को संयोजक रही काम गरी सकेका छन् । 

रोजा लक्जम्वर्ग फाउन्डेसन जर्मनी सँगको सहकार्यमा नेपाल अध्ययन केन्द्रका तर्फबाट नेपालको समसामयिक नीतिगत वहसका लागि संयोजक रही कार्य गर्नु भएको छ । लेखकले राष्ट्रिय र अन्तराष्ट्रिय दर्जनौ संघसंस्थाका सेमिनार र गोष्ठिका लागि युवा विकास, अन्तर्राष्ट्रिय सम्बन्ध, क्षेत्रीय तथा वातावरणीय दिगो विकास सम्बन्धी लेखन र प्रस्तुति गर्नु भएको छ । वहाँका अग्रेजी र नेपाली दुबै भाषामा सम्पादित, एकल लेखन र सहलेखन गरी अनुसन्धानमूलक र विचार प्रधान पुस्तकहरु प्रकाशित भएका छन् । शाही हिमालयन सिल्करोड कन्सल्ट्यान्सीका संस्थापक तथा कार्यकारी अध्यक्ष पनि रहनु भएको छ । 

सोमवार सम्पन्न मन्त्रीपरिषद वैठकले प्रदेश योजना आयोग गठन तथा संचालन आदेश २०७५ स्वीकृत गर्ने निर्णय गरि आयोग गठनको वाटो खोलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?