सन्दीपको नवौं विदेशी लिग पीएसएल, न्यूनतम प्रारश्रमिक ५० हजार अमेरिकी डलर

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने मंगलबार पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् ।
 पाकिस्तानको लाहोरमा मंगलबार भएको अक्सनमा लाहोर कलन्डर्सले नेपाली युवा लेग स्पिनरलाई सन्दीपलाई विदेशी खेलाडीको गोल्ड क्याटगोरीबाट छनोट गरेको हो ।

उनलाई गोल्ड क्याटगोरीबाट लाहोरले पहिलो नम्बरमै आफ्नो टिममा आबद्ध गरेको हो । यससँगै सन्दीपले न्यूनतम ५० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । सन्दीप आबद्ध टिममा पाकिस्तानका फखर जमान, दक्षिण अफ्रिकाका एबी डी भिलियर्स, पाकिस्तानकै मोहमद हाफिज, यासिर साह, वेस्ट–इन्डिजका कार्लोस बाथवेट, न्युजिल्यान्डका कोरी एन्डर्सन छन् ।

पीएसएलमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ । जसमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर कलन्डर्स, पेसावर जल्मी, क्येवा ग्लाडिएटर्स र द सिक्थ टिम रहेका छन् । सन्दीप अघिल्लो वर्ष पीएसएलको ड्राफ्टमा भए पनि उनलाई कुनै पनि टिमले चासो देखाएका थिएनन् । पीएसएलमा आबद्ध भएसँगै सन्दीपको यो नवौं विदेशी फ्रेन्चाइज लिग क्लब बनेको छ । पीएसएल १४ फेब्रुअरीदेखि १७ मार्चसम्म पाकिस्तानको लाहोरका आयोजना हुँदै छ ।

इन्डियन प्रिमियर लिग (ईपीएल) बाट सुरु भएको सन्दीपको विदेश यात्रा पछिल्लोपटक पाकिस्तानसम्म पुगेको छ । उनले आईपीएल (भारत), ग्लोबल टी–२० (क्यानडा), सीपीएल (वेस्ट–इन्डिज) र एपीएल (अफगानिस्तान) को लिग खेलिसकेका छन् । सन्दीप पीएसएलसँगै टी–१०, बिग बास लिग, बंगलादेश प्रिमियर लिग र आईपीएलका लागि अनुबन्धित भइसकेका छन् ।

पीएसएलमा आबद्ध भएसँगै सन्दीप आगामी ६ महिना अर्थात् अप्रिलसम्म व्यस्त हुनेछन् । सन्दीप अहिले संयुक्त अरब इमिरेट्स (यूएई) मा अर्काे बुधबारदेखि आयोजना हुने टी–१० लिगका लागि यूएईमा रहेका छन् ।

 यूएईमा १५ दिन चल्ने लिगमा सन्दीप केरला किंग्ससँग आबद्ध छन् । केरलाले सन्दीपसँग ३० हजार अमेरिकी डलरमा सम्झौता गरेको थियो । लिगमा केरलासहित माराथा अरेबियन्स, पाख्तुन्स, पन्जाबी लिजेन्ड्स, कराचियन्स, बेंगाल टाइगर्स, नर्थन वारियर्स र राजपुत्स छन् । टी–१० लिगपछि उनी नेपाल फर्कने कार्यक्रम छ । उनले एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्नेछन् । उनी ललितपुर प्याट्रियट्ससँग आबद्ध छन् । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?