नेकपा पोलिटब्यूरो प्रस्ताव तयारी गर्दै, सचिवालय बैठक भोलि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पोलिटब्यूरो गठनको तयारी थालेको छ ।

नेकपा सचिवालय बैठकबाट आगामी पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन, प्रदेश कार्यसमितिको पूर्णतालगायत संगठनात्मक सबै काम छिनोफानो गर्नुपर्ने भएकाले कार्यदललाई नै पोलिटब्युरोको प्रस्ताव तयार पार्ने जिम्मा दिइएको हो ।

मंसिर ६ गते (भोलि) नेकपा सचिवालयको बैठक बस्दै छ । 

प्रदेश सदस्यको नाम चयन र केन्द्रीय सदस्यको कार्यविभाजन प्रस्ताव बनाउने जिम्मा पाएको कार्यदलले नै पोलिटब्युरोको प्रस्तावसमेत तयार पार्न थालेको हो । 

पोलिटब्यूरो गठनमा तत्कालीन एमालेमा १५ पदाधिकारी, पदाधिकारीसहित थप १६ स्थायी समिति र स्थायी समितिका सबै सदस्यसहित थप २४ पोलिटब्युरो र थप १५ वैकल्पिक गरी कुल ६५ छन् ।

अहिले गठन हुने पोलिटब्यूरोमा ती सबै नेता स्वतः समाविष्ट हुन्छन् ।

त्यस्तै तत्कालीन एमालेको पोलिटब्यूरोमा रहेका ३ नेता नेकपाको पार्टी कमिटीमा बस्न पाउँने छैन । पोलिटब्यूरो सदस्य गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष, सानु श्रेष्ठ प्रदेश ३ को सभामुख र वैकल्पिक पोलिटब्यूरो सदस्य अग्नि खरेल महान्यायाधिवक्ता रहेकाले उनीहरू पार्टी कमिटीमा बस्न नपाउने भएका हुन् । 

तसर्थ पूर्व एमालेका ६२ नेता स्वतः पोलिटब्युरोमा पर्नेछन् । थप २० नेताले पनि तत्कालीन एमालेका तर्फबाट पोलिटब्यूरोमा स्थान पाउनेछन् । 

तर, तत्कालीन माओवादीतर्फ भने पोलिटब्यूरो चयन गर्न भने सकस भएको छ । तत्कालीन केन्द्रीय समितिदेखि अन्य संरचना ठूलो रहेकाले सचिवालयका ३० देखि ३५ नेता एकीकृत पार्टीको पोलिटब्यूरोमा पर्ने छैनन् । तत्कालीन माओवादीको सचिवालय ९९ सदस्यीय थियो । तीमध्ये ६२ देखि ६५ जना नेता पोलिटब्यूरोमा पर्ने भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?