निर्मला प्रकरणमा सरकार गम्भीर देखिएन : गगन थापा

भीमदत्तनगर । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगएका छन् ।   

बुधबार बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित कांग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले निर्मला प्रकरणमा न्याय दिन सरकार उदासीन भएकै कारण सरकारप्रतिको जनविश्वास टुट्दै गइरहेको विचार व्यक्त गरे । 

प्रनिनिधिसभा सदस्यसमेत रहनुभएका नेता थापाले फरक प्रसङ्गमा जनताको लामो प्रतीक्षापछि मुलुकमा स्थित सरकार आएको बताउँदै सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको दाबी गरे । 

कार्यकर्ता भेटघाटपछि जिल्ला प्रशासन कार्यालय अगाडि दुई सातादेखि धर्नामा बसेका निर्मलाका बुवाआमासँग भेट्न पुगेका नेता थापाले न्यायका निम्ति लडाइँ जारी रहने बताए । 

“तपाईहरु आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस् ।” उनले भने, “तपाईहरुको सन्देश प्रधानमन्त्री र प्रतिपक्षी दलका सभापति समक्ष म पु-याउँछु ।” 

उनले निर्मला प्रकरणमा सरकार उदासीन हुन नहुने भन्दै प्रधानमन्त्री र उक्त प्रकरणमा प्रतिपक्षीदल कांग्रेसको भूमिका सशक्त नदेखिएको विषय पार्टी सभापति समक्ष भेटेरै राख्ने प्रतिबद्धता जनाए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?