वडाध्यक्षलाई निलम्बन गर्न माग

सप्तरी । भ्रष्टाचार अभियोगमा दोषी ठहरिएका रुपनी गाउँपालिका–१ का वडाध्यक्ष पिताम्बर यादवलाई पदबाट निलम्बन गर्न स्थानीयवासीले माग गरेका छन् । 

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नोकरी गरेको अभियोगमा विशेष अदालतबाट कैद र जरिवानाको सजाय पाएका यादवलाई वडाध्यक्षको पदबाट निलम्बन गर्न सोही वडाका किरणकुमार जायसवालले मङ्गलबार निवेदन दिएका हुन् । कानूनबमोजिम यादवलाई निलम्बन गर्न जिल्ला निर्वाचन कार्यालय सप्तरीमा निवेदन परेको जनाउँदै जिल्ला निर्वाचन अधिकारी दिलीपकुमार यादवले आवश्यक कारवाहीका लागि निर्वाचन आयोगमा निवेदनसहित पठाइएको बताए। 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै विशेष अदालतले ०७४ साल पुस २१ गते यादवलाई ६ महीना कैद र १५ हजार जरिवानाको फैसला गरेको छ । अख्तियारले छानबिन थालेपछि ०७४ साल जेठ १० गते राजीनामा दिई राजनीति पेशा अपनाएका यादव गत मङ्सिर २ गते भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले जिल्ला शिक्षा कार्यालय दैलेखबाट ०६९ साल माघ १५ गतेदेखि प्राविधिक सब इञ्जिनियरिङ पदमा सेवा प्रवेश गरेका थिए । 

सब इञ्जिनियरका लागि चाहिने न्यूनतम योग्यता पास नगरी कम्प्युटरबाट स्क्यानिङ गरी नक्कली प्रमाणपत्र पेश गरेर यादवले जिल्ला शिक्षा कार्यालयमा सब इञ्जिनियरमा नियुक्ति लिई ६ वर्षभन्दा बढी समयदेखि राज्यलाई ठगी गर्दै आएकाले कारवाही गर्न माग गर्दै स्थानीय शिवशङ्करले अख्तियारमा निवेदन दिएका थिए । 

आयोगको ऐनको सार्वजनिक पदधारण गरेका व्यक्तिलाई आयोगले दफा १६ वा दफा १९ को उपदफा ४ बमोजिम थुनामा राखेकामा थुनामा रहेको अवधिभर वा दफा १८ बमोजिम मुद्दा चलेकामा किनारा नभएसम्म पदबाट स्वतः निलम्बन हुने व्यवस्था रहेको कानून व्यवसायी मनोज देवले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?