राजधानीमा दर्जनौं भाषाका कविताहरु एउटै मञ्चबाट प्रस्तुति

काठमाडौं । नेपाल भारत काव्य सन्ध्याको मञ्चबाट हिन्दी र नेपाली कविताको धमाकेदार प्रस्तुति भएको छ । राजधानी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेपाल भारत काव्य सन्ध्या मञ्चमा नेपाली, हिन्दी, बंगाली, गुजराती लगायतका भाषामा कविता वाचन भएका छन् ।

हिमालिनी हिन्दी मासिक पत्रीका र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा संचालन भएको काव्य सन्ध्यामा नेपाल र भारतका साहित्कारले आफ्नो रचना प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा छिमेकी मुलुक भारतको विभिन्न प्रदेशबाट  ४० जना प्रतिभावान साहित्कारहरुले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए । साथै नेपालका  कविहरूले पनि विभिन्न विषय र शिर्षकमा आफ्ना कविता र रचनाहरु प्रस्तुत गरेका थिए ।

हिमालिनी पत्रिकाको सम्पादक डा. श्वेता दीप्तिले पनि हिन्दी भाषामा आफ्ना कविता वाचन गरेकी थिइन । त्यस्तै नेपाली कवियत्रीहरुमा बिना थिङ, विमला तुम्खेवा, वसन्त चौधरी, विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी, विधान आचार्य, राजेन्द्र शलभ र सन्ध्या पहाडीले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।

कवि तथा गीतकार वसन्त चौधरीले हिन्दी गजल प्रस्तुत गर्दा सभाहल नैं गुञ्जमान भएको थियो भने विभिन्न भाषाका श्रष्टाहरुले आफ्नो प्रस्तुतिले श्रोतालाई आकर्षित पारेका थिए ।

त्यस्तै काव्य सन्ध्यामा अतिथिको रुपमा भारतबाट आएका कश्मिरदेखि केरलासम्मका साहित्कारले हिन्दी, बंगाली र गुजराती लगायतका भाषामा रचना तथा कविताहरु प्रस्तुत गरेका थिए ।

भारतको गुजरातबाट डा. उषा उपाध्यायले गुजरातीमा आफ्नो प्रस्तुति दिएकी थिइन भने विणा बुद्धकी, अच्युता नन, किरण कुमारी, पुण्यादेवी, परवेज हुसैन, रंजित गुगोई, मिताली भट्टाचार्य, वन्दना श्रीवास्तव, धनाकर ठाकुरले कविता सुनाएका थिए ।

विभिन्न आरोह र अवरोहलाई पार गर्दै नेपालबाट लगातार २० वर्षदेखि प्रकाशित हुँदै आइरहेको हिमालिनी हिन्दी पत्रिकाको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रतीले प्रशंसा तथा अभार व्यक्त गरेका छन् ।

भारतबाट आएको साहित्कारहरुको टोलीको प्रमुख डा. रामचन्द्र रायले नेपालबाट प्रकाशित हिन्दी पत्रिका हिमालिनीका सम्पूर्ण परिवारलाई शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा हिमालिनीका प्रवन्ध निर्देशक सच्चिदानन्द मिश्र, हिमालिनीकी सम्पादिका श्वेता दीप्ति, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय लगायतका श्रष्टाले आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल तथा भारतका साहित्कार, कवि, पत्रकार , राजनीतिकर्मी लगायत विभिन्न पेशाका गन्यमान्य साहित्य अनुरागीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?