जागिर लगाइदिन्छु भन्दै ठगि गरेको आरोपमा वाईसीएलका पूर्वकेन्द्रीय सदस्य पक्राउ

वीरगञ्ज । जागिर लगाइदिन्छु भन्दै ठगि गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइन्छिु भन्दै ठगेको आरोपमा प्रहरीले पर्साको धोविनी गाउँपालिका वडा नं. ३ हरिहरपुर घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं. १३ डेरा गरी बस्ने २६ वर्षीय सन्तोष कुमार पाण्डेय (आलोक)लाई पक्राउ गरेको हो । 

पाण्डेय वाईसीएलका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् । 

उनले राष्ट्रिय अनुसन्धानको प्रहरी जवान र प्रहरी सहायक निरीक्षक पदमा योग्यता अनुसारको जागिर लगाइदिने भनी विभिन्न व्यक्तिलाई विश्वासमा पारेर ७ लाख २० हजार ठगी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ठगी गर्नका लागि पाण्डेयले किर्ते लिखत कागज तयार गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नाम सहितको दस्तखत गरेको नक्कली नियुक्त पत्र समेत उनीहरुलाई दिएका थिए ।

उनले बाराको सुवर्ण गाउँपालिका वडा नं. ५ बस्ने प्रदीप कुमार ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्रहरी जवान पदमा जागिर लगाइदिने भेर १ लाख ७० हजार, महागढीमाई नगरपालिका वडा नं. २ बस्ने हरिन्द्र ठाकुरको छोरा उमेश ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्रहरी जवान पदमा जागिर लगाइदिने भन्दै १ लाख ५० हजार र महागढीमाई नगरपालिका वडा नं. १ बस्ने झगरु महतो कोईरीको छोरा धिरेन्द्र कुशवाहालाई राष्ट्रिय अनुसन्धानको प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाइदिने भनेर ४ लाख रकम लिएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?