मेक्सिकोका राष्ट्रपति ओब्राडोरको सपथ शनिबार, बजार संशकित

मेक्सिको सिटी । मेक्सिकोको राष्ट्रपतिमा आन्द्रेस मानुएल लोपेज ओब्राडोरले शनिबार सपथ ग्रहण गर्ने भएका छन् । भ्रष्टाचार, अपराध र गरिबीबाट आक्रान्त मेक्सिकोलाई समुन्नत राष्ट्रका रुपमा अघि बढाउने ओब्राडोरको योजना छ । 

“आम्लो” उपनामबाट चिनिने ओब्राडोरले गत जुलाईमा छ वर्षे कार्यकालका लागि भएको राष्ट्रपतीय निर्वाचनमा अत्यधिक मत ल्याएर विजयी भएका थिए । साथै, उनको गठबन्धनले कङ्ग्रेसका दुवै सदनमा बलियो बहुमत हासिल गरेको छ । 

कुनै पनि राष्ट्रपतिले ल्याएको मतभन्दा बढी मत ल्याएर ओब्राडोर निर्वाचित भएका थिए । मेक्सिकोका लोकप्रिय यी नेता बामपन्थी हुन् । मेक्सिकोमा सन् २००० देखि बहुदलीय प्रजातान्त्रिक प्रणाली लागू छ । 

छ वर्षे कार्यकालमा ओब्राडोरको कार्यसूची के होला ? सर्वत्र चासोका साथ हेरिएको छ । राष्ट्रपति एन्रीक पेना निटोको कार्यकालका खराबीहरु हटाउने र मुलुकलाई सुशासन दिने नै उनको मुख्य लक्ष्य हुनेछ । 

ओब्राडोरको अघिल्तिर भ्रष्टाचार, लागूऔषधका तस्करविरुद्ध मेक्सिकोको युद्धले निम्त्याएको हिंसा तथा अमेरिका–मेक्सिको सीमामा शिविर खडा गरेर बसेका करिब ६ हजार मध्यअमेरिकी आप्रवासीको समस्या छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतृत्व गरिरहेको विशाल उत्तरी छिमेकी संयुक्तराज्य अमेरिकासँगको सम्बन्ध मेक्सिकोका नयाँ राष्ट्रपति ओब्राडोरका लागि फलामको च्यूरा सरह छ । 

ओब्राडोरले पहिलो कदमस्वरुप राष्ट्रपतीय निवास, राष्ट्रपतीय बिमान, राष्ट्रपतिको आधाभन्दा बढी तलब नलिने तथा राष्ट्रपतिको ठूलो सुरक्षा व्यवस्था त्याग्ने घोषणा गरेका छन् । उनले भ्रष्टाचारविरोधी अभियान चलाउने तथा समाजकल्याणमुखी कार्यक्रम ल्याउने बताएका छन् ।  

तर आलोचकहरुले ओब्राडोरको सरकार अतिवादी सोचबाट ग्रस्त हुने अनुमान गरेका छन् । खासगरी, व्यापारीहरु उनका भनाइबाट त्रासमा छन् । ओब्राडोर निर्वाचित भएसँगै मेक्सिकोको मुद्रा पेसो र सेयरबजार दुवै ओरालो लागेका छन् । 

तर, मेक्सिको सिटीका पूर्व प्रमुख समेत रहेका ओब्राडोरको लोकप्रियता घटेको छैन । एल फाइनान्सीरोले सोमबार प्रकाशन गरेको सर्वेक्षणमा ओब्राडोरको स्वीकारोक्ती दर ६६ प्रतिशत छ । 

सबैभन्दा ठूलो भय बजारको छः दक्षिण अमेरिकाको दोस्रो ठूलो अर्थतन्त्रको भविष्य के होला भन्ने सर्वत्र चासोका साथ हेरिएको छ । लोपेज ओब्राडोरले बजारलाई यथार्थपरक हुन आग्रह गरेका छन् । तर, पाँच महिनासम्मको अवधिमा निकै उतारचढाव देख्न पाइने विश्लेषकहरुको भनाइ छ । 

ओब्राडोरले १३ अर्ब डलरको मेक्सिको सिटी विमानस्थल निर्माण परियोजना रद्द गर्ने बताइसक्नु भएको छ । अनियमितताको घेरामा परेको यो परियोजनाका बारेमा जनमतसंग्रह नै गर्नुपर्ने उनको भनाइ छ । 

उनको गठबन्धनमा रहेका सांसदहरुको बैंकिङ शुल्कमा कमी ल्याउन र निवृत्तिभरण कोषलाई राज्यको नियन्त्रणमा ल्याउने प्रस्तावका कारण पनि बजारमा त्रासको वातावरण देखिएको हो । 

मेक्सिकोको सेयरबजारमा पनि ओब्राडोर निर्वा्चित भएपछि १२ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । सोमबार मात्र, मार्च २०१४ यताकै सबैभन्दा न्यून विन्दुमा सेयरबजार पुगेको छ । 
बुधबार, केन्द्रीय बैंकले लोपेज ओब्राडोरका नीतिहरुको अनिश्चितताका कारण सन् २०१९ को आर्थिक वृद्धिको प्रक्षेपणलाई कटौती गरेको छ । 

साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरुका कारण परिस्थितिलाई अझ उल्झनमा पार्ने निश्चित छ । 

अमेरिकासँगको सीमामा अमेरिकाले लगाउने पर्खालको खर्च मेक्सिकोले व्यहोर्नुपर्ने तथा अमेरिका, मेक्सिको र क्यानाडाबीचको संशोधित व्यापार सम्झौतालाई ओब्राडोरले सत्ताको बागडोर सम्हाल्नु ठीक एकदिनअघि हस्ताक्षर गर्ने कार्यले पनि ओब्राडोरमाथि चुनौती छ । 

जहाँसम्म, लोपेज ओब्राडोर र ट्रम्पबीच पटकपटक वार्ता र संवाद भएका छन् । ट्रम्पले चुनावपछि ओब्राडोरसँग निकै रचनात्मक कुराकानी भएको बताइसकेका छन् ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?