ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्ने

ललितपुर । ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्ने भएको छ । 

विश्व सम्पदा सूचीमा सुचीकृत यस स्थानमा सवारी साधनको चाप धेरै हुँदा पर्यटकलाई समेत बाधा पुगेकाले व्यवस्थापनका लागि अध्ययन थालिएको महानगरपालिकाले जनाएको छ । 

मङ्गलबजार र त्यस आसपासमा सवारी साधनको आवागमन कम गर्नका लागि अध्ययन भइरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । दरबार क्षेत्र र आसपासमा पार्किङले यस क्षेत्रका सडक अस्तव्यस्त बनेकाले पार्किङ नदिने र सडक एकातर्फी मात्रै सवारी साधन चल्न दिने महानगरपालिकाको योजना छ ।

सडक व्यवस्थापनको काममा नगर प्रहरी परिचालन गर्न महानगरले ५० नगर प्रहरीसमेत थप गर्दैछ । उनले भने, “पार्किङमुक्त बनाउने र एकतर्फी सवारी साधन सञ्चालन गर्ने यी दुवै काम हाम्रा लागि सजिलो भने छैन ।” महानगरपालिकाले शुरु गरेको ‘महानगर ट्राफिक योजना’अन्तर्गत सम्पदा क्षेत्रको ट्राफिक व्यवस्थापका लागि अध्ययन भइरहेको हो ।

स्थानीयवासीलगायत सबैले सहयोग गर्दा मात्रै यो योजना कार्यान्वयन गर्न सकिने उनले बताए । 

पर्यटकको आगमन बढी हुने मङ्गलबजार, गावहाल, महापाल, सौगल, सुन्धारालगायत स्थानमा नै सवारी चाप बढी छ । ललितपुरको व्यापारिक केन्द्र पनि भएकाले जनप्रतिनिधि नहुँदा स्थानीय निकायले पटकपटक प्रयास गर्दासमेत एकातर्फी सवारी साधन सञ्चालन कार्यन्वयन हुनसकेको थिएन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?