राष्ट्रपति भण्डारी आज स्वदेश फर्किंदै

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन पोल्याण्ड पुगेका राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कंदै छिन् । 

राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति भण्डारी बिहीवार बिहान ११ बजे त्रिभुवन विमानस्थल आइपुग्ने कार्यक्रम रहेको बताइएको छ । 

पोल्याण्डमा रहँदा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तन संरचनासम्बन्धी सम्मेलनमा सम्बोधन गरेकी थिइन् । साथै उनले पोल्याण्डका राष्ट्रपति आन्द्रेजेज डुडासँग समेत भेटवार्ता गरेकी थिइन् । 

सम्मेलनलाई सम्बोधनका क्रममा उनले नेपाल जस्ता न्युन कार्बन उत्सर्जन गर्ने मुलुकले बेहोर्नु परेको जलवायु परिवर्तन र ग्लोबल वर्मिङ असरबारे विश्व समुदायलाई जानकारी गराएकी थिइन् । 

आफुहरुले गर्दै नगरेको गल्तीको सजाय भोगिरहेको उल्लेख गर्दै उनले प्रविधि र श्रोत सम्पन्न मुलुकहरुको सहयोगको अपेक्षा समेत गरेकी थिइन् । 

वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, केही सासंद र राष्ट्रपति कार्यालयका अधिकारी सहित राष्ट्रपति भण्डारी गत शनिबार पोल्याण्ड गएकी थिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?