सम्मेलनमा पुरस्कार लिएको विषयमा टिप्पणी गर्नेलाई ओलीको यस्तो चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युनिभर्सल पिस फेडेरेसनबाट एक लाख डलरको पुरस्कार लिएपछि उनीविरुद्ध विभिन्न टिक्काटिप्पणी भइरहेका छन् ।

एसिया प्यासिफिक सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले सो पुरस्कार पाएका थिए । 

प्रधानमन्त्री ओलीले यही विषयलाई लिएर आफूमाथि भएको असभ्य र तल्लोस्तरको टिप्पणी भएको बताएका छन् । साथै उनले यस्तो टिप्पणी गर्ने बुद्धिजीवीहरुलाई चेतावनी समेत दिएका छन् । 

नेपाल टेलिभिजनबाट बुधवार राति प्रशारण भएको जनतासँग प्रधानमन्त्री ओलीले कुनै–कुनै बुद्धिजीवीहरुको टिप्पणी अत्यन्तै असभ्य र तल्लोस्तरको भएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘ती बुद्धिजीवीहरुलाई म जान्दछु र वादविवाद अथवा आफूसँग सत्यहरुको सम्बन्धमा बहस गर्न इच्छाएको हो कि हैन ?’

साथै प्रधानमन्त्री ओलीले चेतावनी दिँदै भने, ‘असभ्य ढंगले टिक्काटिप्पणी गरिरहँदा त्यसमा भएका अलिकति असलियत बाहिर आउँदा उहाँहरुको हालत के हुन्छ, त्यो विचार गर्नुपर्ने हो ।’

उनले थपे, सरकारकै भत्ता, पेन्सन खाने र सरकारी सेवासुविधा पलएर जथाभावी कुरा गर्ने प्रवृत्ति देखिएको समेत बताएका छन् । साथै यस्तो खाले क्रियाकलापले गोपनियताको वास्ता नगर्ने प्रवृत्ति समेत बढेको बताए । 

प्रधानमन्त्री ओलीले आफूविरुद्ध बुद्धिजीवीहरुले अपमानजनक टिप्पणी गरेपनि जवाफ नदिने बरु प्रश्न सोधिरहने बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?