निर्मलाको लागि न्याय माग्दै राष्ट्रपति कार्यालय अगाडी प्रदर्शन, ११ जना पक्राउ

काठमाडौं । निर्मला पन्तको लागि न्याय माग्दै राष्ट्रपति कार्यालय अगाडी प्रदर्शन भएको छ । प्रदर्शका क्रममा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट फर्किंदै गर्दा प्रदर्शनकारीले टाउकोमा काटो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका थिए । 

उनीहरुले ‘म निर्मला’ लेखिएको स्टिकर टाँसेका थिए । 

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंले ११ जना प्रदर्शन कारीलाई  पक्राउ गरिएको पुष्टि गरेका छन् । 

पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत्तको हिरासतमा राखिएको छ । 

यसैबीच हिजो (बुधवार) प्रहरीले निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा काठमाडौंबाट एक युवालाई पक्राउ गरेको थियो । 

पक्राउ परेका युवाको वयान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा जारी छ । 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या  भएको थियो । 

उनको हत्या भएको साढे चार महिना बितिसक्दा पनि सरकारले अपराधी पत्ता लगाउन सकेको छैन । उनको न्यायको माग गर्दै भएको आन्दोलनका क्रममा एक जनाले ज्यान गुमाइसकेका छन्, केही अंगभंग भएको अवस्थामा छन् । उनका बाबु यज्ञराज पन्तको मानसिक अवस्था असामान्य भएपछि अस्पताल भर्ना गरीएको छ । उनकी आमा, दिदीबहिनी समेत न्यायको हार गुहार गरी रहेका छन् । 

यसैबीच निर्मलालाई न्याय देऊ भन्दै स्वस्फूर्त रुपमा आम नागरिकहरु सरकारसँग माग गरिरहेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?