कृषि प्राविधिक शिक्षातर्फ विद्यार्थीको बढ्दो आकर्षण

म्याग्दी / म्याग्दीको मालिका गाउँपालिका–७ विममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १८ जिल्लाबाट विद्यार्थी आएका छन् । 

कृषि विषय अध्ययनका लागि विद्यार्थीको आकर्षण बढ्दै गएपछि शिक्षालयमा भौतिक पूर्वाधारको अभाव हुँदै गएको छ । शिक्षालयमा छात्रको तुलनामा छात्राको सङ्ख्या बढी रहेको कृषि प्राविधिक शिक्षालयले जनाएको छ । 

वि.सं २०६८ मा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महीने जेटिए, गत वर्षदेखि तीनवर्षे आइएस्सी ‘एजी’ र यस वर्षदेखि भेटेरीनरी ‘पशु रोगको चिकित्सा वा उपचार सम्बन्धी’ शिक्षा अध्यापन शुरु भएको छ । शिक्षालयमा अहिले सुर्खेत, जुम्ला, हुम्ला, मुगु, कैलाली, चितवन, कास्की, बागलुङ, म्याग्दीलगायत १८ जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका शिक्षालयका संयोजक करन कँडेलले बताए । 

संयोजक कडेलका अनुसार जेटिए र आइएस्सी ‘एजी’ विषयमा १२३ विद्यार्थी अध्ययनरत छन् । ती मध्ये ७३ छात्रा र ५० छात्र छन् । मासिक पाँच हजारमा आवासीय सुविधासहित गुणस्तरीय शिक्षा प्राप्त गर्न पाएकाले विद्यार्थीको चाप बढ्दै गएको हो । 

आइएस्सी ‘एजी’ प्रथम सेमिस्टरमा अध्ययनरत पर्वतकी गरिमा नेपालीले नेपाल कृषिप्रधान देश भए पनि अधिकांश जग्गामा व्यावसायिक रूपमा खेती नगरिँदा बाँझिएको र आफू कृषि प्राविधिक भएपछि कृषकलाई परम्परागत तरिकाले होइन, आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिक रूपमा खेती गर्न सिकाउने उद्देश्यले यस विषयमा आकर्षित भएको बताए । 

त्यसैगरी एजी दोस्रो सेमिस्टरमा अध्ययनरत सन्देश भण्डारीले नेपाली युवालाई व्यावसायिक कृषितर्फ प्रोत्साहित गरी कृषि उत्पादनमा वृद्धि गर्ने र कृषिबाट नै आयआर्जन गर्न सकिन्छ भन्ने चेतना विस्तार गर्नका लागि आफूले कृषि विषय रोजेको बताए ।

१८ महीने जेटिएमा अध्ययनरत जमुना घिमिरेले अझै पनि कृषि पेशा परम्परागत तरिकाले गरिँदै आइएको र आफूले कृषि पढेर जेटिए बनेपछि आधुनिक रूपमा व्यावसायिक कृषि पेशा सिकाउने उद्देश्यले कृषि प्राविधिक शिक्षालयमा पढ्न आएको बताए । 

स्थानीय स्रोतका भरमा शिक्षकलाई तलब खुवाएर यो शिक्षालय सञ्चालन गरिएको छ । स्थानीय चन्दादाता र वैदेशिक रोजगारीमा गएका विमवासीको सहयोगमा शिक्षालय सञ्चालन भइरहेको शिक्षालयका प्रमुख एवं किसानी माविका प्रधानाध्यापक जङ्गबहादुर गर्वुजाले बताए । 

विद्यार्थीलाई प्रयोगात्मक विधिद्धारा शिक्षण गराइँदै आएको र ‘देशको समृद्धि व्यावसायिक कृषि’ भन्ने मूल उद्देश्यका साथ कृषि प्राविधिक शिक्षालय सञ्चालन गरिएको शिक्षालयका प्रमुख गर्वुजाको भनाइ छ । गर्वुजाका अनुसार यस वर्षदेखि कृषिका साथै भेटेरीनरी ‘पशु रोगको चिकित्सा वा उपचार सम्बन्धी’ शिक्षा पनि प्रदान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?