कांग्रेस सभापति देउवाको अनुपस्थितिले संवैधानिक परिषदको बैठक स्थगित

काठमाडौं । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नभएपछि आज बस्ने भनिएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । 

बैठक आज बुधबार ९ बजेका लागि बोलाइएको थियो तर देउवा अनुपस्थित भएकाले बैठक स्थगित गरिएको हो । 

बैठक बिहीबार बिहान ९ बजेका लागि पुनः बोलाइएको । 

मंगलबार साँझको बस्ने भनिएको बैठक स्थगित भएपछि पुस ५ गतेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिइएको भएपनि बुधबार बिहानैका लागि बैठक बस्नेगरि सदस्यहरुलाई मंगलबार राति ९ बजे सूचना दिइएको थियो ।

प्रमुख प्रतिपक्षी दलका नेता एवम् कांग्रेस सभापति देउवा सहभागी नभएपछि संवैधानिक परिषदले आज पनि प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सकेन । यद्यपि अघिल्ला बैठकहरुमा पनि देउवा अनुपस्थित हुँदै आएका छन् ।

मंगलबारै प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी भए पनि विपक्षी दलका नेता देउवाकै कारण बैठक स्थगित गर्नु परेको श्रोतको दाबी छ । 

प्रधानमन्त्री ओली र नेता देउवाबीच अनौपचारिक सहमति बाँकी रहेकाले पनि पटकपटक बैठक स्थगित हुने गरेको जनाइएको छ । बैठकका लागि प्रधानमन्त्री केपी शर्मा ओली भने सवा नौ बजे नै सिंहदरवार आइसकेका थिए । 

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद् बैठक बोलाइएको हो । 

प्रधानन्यायाधीशका लागि चोलेन्द्र शम्शेरण राणा र दिपक राज जोशीमध्ये एकलाई परिषद्ले सिफारिस गर्नुपर्नेछ । 
जोशीलाई संवैधानिक परिषद्ले सिफारिस गरेपनि संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थिएन । जोशीका शैक्षिक प्रमाणपत्रका विषयमा विवाद देखिएपछि उनको अनुमोदन भएको थिएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?