बोक्सीको आरोपमा झाँक्रीले बालिकामाथि मुड्की र लात्ती बजारिन्, गाउँले रमिते बनिरहे [भिडियो]

बैतडी । आजको युगमा पनि कथित बोक्सीको आरोपमा महिलामाथि कुटपित भयो भनेर सुन्दा नौलो नलाग्न सक्छ । किनकि यस्ता घटना नेपाली समाजमा दैनिकजसो घटिरहेका छन् । तर दूर दराजका गाँउमा मात्र होइन शहर बजार र शिक्षित समाजमै यस्ता घटना दोहोरिरहने गरेका छन् । 

कैलालीमा राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिटको गरिएको घटना सेलाउन नपाउँदै बैतडीको डिलासैनी गाउँपालिकामा बोक्सीको आरोपमा एक बालिकामाथि निर्घात कुटपिट भएको छ ।

जिल्लाको उक्त गाँउपालिकामा एक बालिकामाथि बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट भएको हो ।

बोक्सीको आरोपमा उनीमाथि कुटपिट गरिरहँदा भेला भएका स्थानीयमध्ये कसैले पनि रोकेनन् । लगातार उनीमाथि कुटपिट भयो । भेला भएका स्थानीय मात्र रमिते बनिरहे । बालिका कुटाइ खाएर बेहोस भएपछि मात्र उनलाई छोडिएको थियो ।

झाँक्री भन्नेले लात्ता बजार्ने, गाउँले रमिता हेर्ने

डिलासैनी गाँउपालिका–६ बरमबजारको बीच सडकमा भएको घटना हो यो । सडक धेरै मानिस जम्मा भएका थिए । कुर्चीमाथि राखेर बालिकामाथि निर्धात कुटपिट भयो । झाँक्री भनिने सेतो वस्त्र लगाएकी अर्की एक महिलाले उनलाई बोक्सीको आरोपमा निरन्तर कुटपिट गरिन् । मुक्का, लात्ता र लछारपछारको चोट उनलाई असह्य हुन्छ । चोट सहन उनी नसकेर चिच्याउँछिन्, रुन्छिन् । ती बालिकाले सहयोगको याचना गरिरहन्छिन् ।

तर, उनीमाथि कुटपिट भइरहँदा पनि रमिते बनेका स्थानीय भने चुपचाप थिए । सबैले नाटक हेरेजस्तै हेरिरहे, कसैले रोक्ने प्रयास गरेनन् । ती महिलाले निरन्तर कुटिरहँदा उनी बेहोस हुन्छिन् र सडकमै पछारिन्छिन् । उनी बेहोस भएर ढलेपछि उनकै उमेरका दुई जनाले बालिकालाई समाएर नजिकैको घरमा लैजान्छन् ।

गाउँमा सधै दोहोरिन्छन् यस्ता घटना

जिल्लाका  विकट गाउँहरुमा यस्ता घटना दोहोरिरहने र यस्ता दृश्य सामान्य भएको गाउँलेले बताए । उनीहरुका अनुसार यस्ता घटना गाउँमा देखिने सामान्य घटना हुन् । गाँउमा बोक्सीका आरोपमा यस्ता घटना भइरहन्छन् तर, बाहिर आउँदैनन् । कोही बिरामी प–यो या कसैलाई केही भयो भने झारफुक गर्ने चलन गाउँमा रहेको छ । झाँक्रीले झारफुक गरेपछि स्थानीयले धामीझाँक्रीको निदानको उपाय खोज्ने गर्छन् ।

 

अनभिज्ञ स्थानीय प्रशासन 

जिल्लामा बोक्सीका आरोपमा निर्मम कुटपिट हुँदासमेत जिल्ला प्रशासन कार्यालयलाई यसबारे कुनै जानकारी छैन । बैतडीका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले यसबारे प्रशासनलाई कुनै जानकारी नभएको बताए । ‘डिलासैनीको घटनाबारे हामीलाई कुनै जानकारी छैन ।’ प्रमुख जिल्ला अधिकारी गैरेले भने, ‘कुनै पनि घटनामा हामीले तुरुन्तै एक्सन लिने गरेका छौं तर यो घटनाबारे हामीलाई जानकारी छैन ।’

घटनाबारे गाँउपालिकाका स्थानीयलाई बुझ्न भने उनीहरु बोल्न चाहेनन् । 

हुन त यस्तो घटना नेपालमा सधैजसो दोहोरिने घटना हुन् । नेपाली समाजमा बोक्सीको आरोपमा विपन्न र तल्लो जातका भनिने महिलाहरुमाथि यस्ता आक्रमणहरु बेला बेलामा भइरहन्छन् । प्रायजसो गरीब र एकल महिला यस्ता आरोपको शिकार हुने गरेको स्थानीयहरु बताउँछन् ।

आर्थिक विपन्नता र अन्धविश्वास व्याप्त रहने समाजमा यस्ता घटना बढी हुने गरेको पाइएको छ । अझ ग्रामीण क्षेत्रमा बोक्सीकै आरोपमा महिलामाथि निर्मम कुटपिट हुने गरेको छ ।

तस्वीर/भिडियोः रत्नहरि ढुङ्गेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?