सत्ताको आडमा गुण्डागर्दी : ‘ठेक्का कमिशन’ नपाएको भन्दै कुटिए निर्माण व्यवसायी, प्रहरी भन्छ, “सामान्य घटना हो, मिलापत्र गराई

काठमाडौं । गुण्डागर्दि गर्नेहरुले निर्माण व्यवसायीलाई कुटपिट गरेरै आफ्नो भाग हत्याउछन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर सत्ताधारी पार्टीकै छत्रछायामा गुण्डागर्दी गर्ने एक समुहले निर्माण व्यवसायीसँग आफ्नो भाग दिनुपर्ने हप्कीदप्की लगाएर कुटपीट समेत गरेका छन् । त्यो पनि प्रधानमन्त्री केपी शर्मा ओलीको गृह–नगर झापाको दमक नगरपालिकामा । 

राजनीतिक शक्तिको आडमा झापाको दमक नगरपालिका–५ मा ‘ठेक्का कमिशन’ नपाएको भन्दै एकजना निर्माण व्यवसायीमाथी कुटपीट भएको हो ।  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता समेत रहेका निर्माण व्यवसायी स्थानीय राजकुमार थापाले आफूले ‘ठेक्का कमिशन’ नपाएको भन्दै अर्का एक निर्माण व्यवसायी पशुपति बरालमाथि आक्रमण गरेका हुन् । घटना गत आइतबारको हो । थापाले निर्माण व्यवसायी बराललाई पटक–पटक धम्क्याउने फोनबाट गली गलौज गर्ने, अभद्र व्यवहार गर्ने जस्ता क्रियाकलाप गर्दै आएकोमा आइतबार साँझ भने आक्रमण नै गरेका हुन् ।  

भएको के थियो ? 
केही समयअघि दमक नगरपालिका–५ स्थित ‘क्याम्पस मोड–आम्दा –पाङ्नी चोक’ सड्क खण्ड निर्माणका लागि भन्दै नगरपालिकाले टेण्डर आह्वान गरेको थियो । नगरपालिकाले २० करोड र उपभोक्ताबाट ३ करोड ब्ययभार ब्यहोर्नेगरी टेण्डर गरिएको उक्त सड्कको ठेक्का पशुपती बरालले पारेका थिए । विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन प्रा.लि. को तर्फबाट बरालको वल्र्डट्रेड कन्सट्रक्सन प्रा.लि.लाई सव कन्ट्याक दिनेगरी उक्त सडकको ठेक्का परेपछि ‘ठेक्का कमिशन विवाद’ शुरु भयो । युवा संघको पूर्व क्षेत्रीय सदस्य समेत रहेका राजकुमार थापाले टेण्डर प्रक्रियामा आफ्नो भएको खर्च र नेताहरुलाई बुझाउनुपर्ने कमिशन बापत २ करोड २५ लाख कमिशन मागेपछि विवाद शुरु भएको बताईएको छ । 

पाँच फुट फुटपाथ र नालासहित ५० फिट चौडाबाटो निर्माणका लागि आह्वान गरेको टेण्डरमा राजकुमार थापाले पनि रामेछापका निर्माण व्यवसायी कान्छाराम तामाङका फर्म ‘कान्छाराम कन्स्ट्रक्सन’ प्रयोग गरेर टेण्डर हालेका थिए । तर, कागजातमा त्रुटी भएको भन्दै उनलाई टेण्डर परेन । टेण्डर नपरेदेखि नै रुष्ट बनेको थापाले त्यस सत्ताधारी पार्टीको आडमा बराललाई धम्क्याउदै आएका थिए । 

‘मैले पाँचजना प्रतिस्पर्धीलाई पछि पार्दैै ईबिडिङ प्रक्रियाबाट टेण्डर पारेको हुँ’ निर्माण व्यवसायी पशुपति बराल भन्छन्, ‘ठेक्का परेपछि मलाई कमिशन बापत भन्दै २ करोड २५ लाख मागियो, त्यो रकम नदिँदा हाईलक्स गाडीले हानेर ज्यान मार्ने उद्योग गरियो ।’ उनका अनुसार यस भन्दा अगाडि पनि घरमा आफ्ना केटालाई पठाएर धम्क्याउने गरेका थिए । 

 

मिल्नलाई राजनीतिक दबाव
घटनाको दोस्रो दिनदेखि निर्माण व्यवसायी बराललाई नेकपाका नेताको फोन आउन थाल्यो । मिल्नको लागि आग्रह गर्दै उनलाई नेताहरुको फोन आउन थालेको हो । जिल्ला स्तरका नेताहरुले मिल्लको लागि आग्रह गर्दै फोन गर्नुभएको छ । व्यवसायी बरालले भने । 

केहि दिन अघि नेकपाले बैठकको आयोजना नै गरेर मिलेर जानुपर्नेमा जोड दिएका थिए । उक्त बैठकमा थापाले पनि मिलेर जाने प्रतिवद्धता जनाएका थिए । तर त्यसको केहि दिन नबित्दै व्यवसायी बरालमाथि आक्रमण भएको हो । 


न्यायको माग गर्दै प्रहरीमा उजुरी 
निर्माण व्यवसायी पशुपति बरालमाथि गत आईतबार आक्रमण भएको भन्दै ईलाका प्रहरी कार्यालय दमकमा उजुरी परेको छ । निर्माण व्यवसायी पशुपति बरालले आफूमाथि कुटपिट भएको भन्दै न्यायका लागि प्रहरीमा दर्ता गरेका छन् ।

ईलाका प्रहरी कार्यालय दमकका प्रमुख (डिएसपी) सामेल सुब्बाले निर्माण व्यवसायी पशुपति बरालले आफुमाथि कुटपिट भएको भनेर निवेदन दिएको बताए । ‘निर्माण व्यवसायी पशुपति बरालले आफुमाथि कुटपिट भएको भनेर निवेदन दिनुभएको छ’ डिएसपी सुब्बाले भने, ‘कुटपिट गर्ने राजकुमार थापालाई हामी सम्पर्कमा ल्याउन खोजिरहेका छौं ।’

लोकपथसँगको कुराकानीमा डिएसपी सुब्बाले बाहिर जे भनिए पनि प्रहरीको नजरमा सामान्य झगडा भएको भन्दै सम्पर्कमा आउने बित्तिकै मिलापत्र गरिने बताए । ‘प्रहरीको नजरमा यो सामान्य घटना हो ।’ उनले भने, ‘हामी राजकुमार थापालाई खोजिरहेका छौं, सम्पर्कमा आउने बित्तिकै घटनाको मिलापत्र गछौं ।’

व्यवसायी बरालमाथि हातपात गरेर फरार रहेका थापालाई प्रदेश–१ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले नै संरक्षण गरिरहेको आरोप लागेको छ । तर प्रदेश गृहमन्त्री कार्कीसँग यसबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । उनको मोबाइलमा सम्पर्क हुन सकिरहेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?