एक सयभन्दा ठूला भारतीय नोट नेपालमा प्रतिबन्धित

काठमाडौं । भारु दुई सयका नोट नेपालमा नचल्ने भएको छ । यसअघि भारु पाँच सय र दुई हजारको नोट नेपालमा प्रतिबन्ध लगाइएकोमा अब २ सयका नोट पनि प्रचलनमा नल्याइने भएको हो ।

मन्त्रिपरिषदको बैठकले भारतले हालै ल्याएका २ सयमाथिका नयाँ नोट प्रतिबन्ध लगाउने निर्णय गरेको हो । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले गरेको सो निर्णयको बिहीबार मात्रै सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले जानकारी गराएका हुन् ।

‘भारतीय रुपैयाँ २००, ५०० र २००० का नोटहरु साथमा राख्न गैरकानुनी हुने भएकाले ती नोटहरु चलनचल्तीमा नल्याउन, नबोक्न, नराख्न सूचना प्रकाशन गर्ने निर्णय भएको छ’, मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटाले भने ।

अब भारु २ सय, ५ सय र २ हजारका नोटको कारोबार नेपालमा गैरकानुनी हुनेछ । भारु १ सय वा सोभन्दामुनिका नोटहरु भने चलनचल्तीमा रहनेछ ।

भारतले कालोधनलाई निरुत्साहित गर्न भन्दै पाँच सय र हजारका पुराना नोट विस्थापित गरी नयाँ नोटहरु प्रचलनमा ल्याएको हो । नेपालमा रहेका पुराना नोट सटहीका सम्वन्धमा भारतले चासो दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?