कांग्रेस महासमिति बैठक : स्वागत र नाम दर्ता आज, उद्घाटन भोलि

काठमाडौं । नेपाली कांग्रेसको शनिबारदेखि औपचारिक रुपमा सुरु हुने महासमिति बैठकको चलहपहल बढेको छ । महासमिति बैठकका लागि देशभर तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट नेताहरु आएसँगै चलहपहल बढेको हो । 

महासमितिका लागि काठमाडौं आएकाहरुलाई स्वागत र नाम दर्ताको कार्यक्रम शुक्रबार पार्टी कार्यालय सानेपामा राखिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार महासमिति बैठकको उदघाटन भने शनिबार मात्र हुने छ । शनिबार ११ बजे रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उदघाटन गर्ने प्रवक्ता शर्माले बताए ।

उदघाटन कार्यक्रम सकिएलगत्तै बन्दसत्र शुरु हुनेछ । बैठकमा ६ वटा प्रतिवेदन पेश हुनेछ । विधान मस्यौदा समिति संयोजक पूर्णबहादुर खड्काले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक दस्तावेज, उपसभापति विमलेन्द्र नीधिले राजनीतिक दस्तावेज, सहमहामन्त्री डा. प्रकाशसरण महतले कांग्रेसको आर्थिक नीति र कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन बैठकमा पेश गर्ने कार्यक्रम छ ।

महासमिति सदस्यहरुलाई समूहमा विभाजन गर्ने र सबै प्रतिवेदनहरुमाथि समूहगत छलफल गराएर निष्कर्ष पेश गर्ने व्यवस्था मिलाइएको छ । 

१६ सय प्रतिनिधि, एक करोड खर्च
महासमिति बैठकमा एक हजार ६ सय प्रतिनिधि र पर्यवेक्षकले भाग लिने भएका छन् । प्रत्येक प्रतिनिधिसँग प्रवेश शुल्क बापत एक हजार रुपैयाँ शुल्क उठाइने भएको छ ।

महासमिति बैठकमा पुरानो २ सय ४० निर्वाचन क्षेत्रबाट पाँच जनाको दरले एक हजार दुई सय जना, भातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट ९७ जना प्रतिनिधि सहभागी हुनेछन् ।

महासमिति सदस्य नभएका २९ जिल्लाका सभापति २९ जना र राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्य भएका तर महासमिति सदस्य नभएका २६ जनालाई पर्यवेक्षकको रुपमा भाग लिन पाउने व्यवस्था भएको प्रवक्ता शर्माले बताए । महासमिति बैठक अयोजना गर्नको लागि एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

बैठकस्थलमा प्रत्येक बिहान ११ बजे र दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर बिषय र घटनाको बारेमा जानकारी दिने उनले बताए । देशभरबाट आएका महासमिति सदस्यहरुले बेलुकीको खाना र बासको व्यवस्था आफैंले मिलाउनु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?