‘हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित जनसंघर्ष थाल्दै राप्रपा’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित जनसंघर्ष थाल्ने भएको छ । देशमा हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित देशभर जनसंघर्ष गर्न लागेको अध्यक्ष कमल थापाले बताए । 

पार्टी कार्यकर्तालाई प्रदेशस्तरीय प्रशिक्षण दिन सुर्खेत पुगेका थापाले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन् । पार्टीले गर्न लागेको जनसंघर्ष कुनै धर्म, पार्टीको विरोध नभई हिन्दु राष्ट्र पुनःस्थापनासँगै देशमा रहेको विकृति अन्त्यका लागि एकखालको जनदबाब भएको उनले बताए ।

जनसंघर्षका लागि देशका सबै प्रदेशमा पुगेर राप्रपाले कार्यकर्ताहरुलाई प्रशिक्षण दिनेछ । उनका अनुसार पुस र माघमा देशका सबै स्थानीय तहमा पार्टीको संगठन निर्माण गर्ने र फागुन ७ गतेबाट देशव्यापी रुपमा हिन्दू राष्ट्र पुनःस्थापनाको मागसहित जनसंघर्ष सुरू गरिने छ ।

साथै अध्यक्ष कमल थापाले वर्तमान सरकारको कार्यकाल जनअपेक्षाअनुसार नभएको समेत बताए । चुनावका बेला वर्तमान सरकारमा रहेको पार्टीले राष्ट्रियताका राम्रै मुद्दा उठाएकाले जनताले बहुमत प्रदान गरेको भन्दै उनले जनअपेक्षा अनुसारको काम सरकारले गर्न नसकेको आरोप लगाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?