पाँच सम्पदा पुनःनिर्माण अनिश्चित

काठमाडौं । भूकम्पले क्षतिग्रस्त पाँच सम्पदा स्थल पुनःनिर्माणको टुङ्गो लाग्न सकेको छैन । 

साढे तीन वर्ष वितिसक्दा समेत खिचापोखरीको रणमुक्तेश्वर, टुँडिखेलको महाङ्काल मन्दिर, भक्तपुरको जङ्गम मठ, थापाथली कालमोचनघाटको जँग–हिरण्य–हेम–नारायण मन्दिरसँगैको सत्तल र वसन्तपुरको कुमारी घर पुनःनिर्माण कहिले हुने निश्चित नभएको हो । 

पाँचवटै सम्पदास्थलको प्रारम्भिक अध्ययनका लागि पुरातत्व विभागको स्वीकृतिमा गुठी संस्थानलाई जिम्मेवारी दिइएको थियो । संस्थानले रु १२ लाख खर्च गरेर परामर्शदाता नियुक्त गरी नक्सासमेत बनाइसकेको उपप्रशासक दीपकबहादुर पाण्डेले राससलाई जानकारी दिए । पुनःनिर्माणका लागि स्वीकृति नआउँदा ती सम्पदा अलपत्र बनेको उनको भनाइ थियो । 

रणमुक्तेश्वर पुनःनिर्माणका लागि १४ करोड ६२ लाख २४ हजार, महाङ्काल मन्दिरका लागि २८ लाख ३० हजार, जङ्गम मठका लागि  १३ करोड ९२ लाख, जँग–हिरण्य–हेम–नारायण सत्तलका लागि १३ करोड र कुमारी घरका लागि  सात करोड ६८ लाख लाग्ने अनुमान गरिएको थियो ।

संस्थानले बनाएको नक्सा विभागले पास गरेपनि पुनःनिर्माण र नियमित दुबै बजेटमा समावेश नगरेको उपप्रशासक पाण्डेले बताउए । बनाउने निश्चित नभएपछि सबै सम्पदा स्थलमा टेको लगाएर अड्याइएको छ । विभागका प्रवक्ता रामबहादुर कुँवर भने कुमारी घर पुनःनिर्माण गर्न संस्थानलाई स्वीकृति दिइएको बताउछन् । 

भक्तपुरको जङ्गम मठ भारत सरकारको अनुदानमा बन्ने सम्पदाको सूचीमा रहेको जानकारी पनि उनले दिए । महाङ्काल (शनिदेव) मन्दिर र सङ्कटा मन्दिर गुठियारले नै बनाउन प्रस्ताव गरेका छन् । महाङ्काल मन्दिर अघि मूल सडकबाट तीन वटा भ-याङ राख्ने स्थानीयवासीको मागलाई स्वीकृति दिन नसकिने विभागले जनाएको छ ।

रणमुक्तेश्वर र जँग–हिरण्य–हेम–नारायण सत्तल आगामी आर्थिक वर्षमा पुनःनिर्माण गर्ने गरी कार्यक्रम बनाउन लागिएको विभागले जनाएको छ । संस्थानले परामर्शदाता नियुक्त गरेर गरेको कामको भुक्तानी विभागसँग माग नगरेको प्रवक्ता कुँवरले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?